नेपालमा किन पाउडर दूध उत्पादन बढ्न सकेको छैन ?

डेरी उद्योगी भन्छन्- पाउडर बनाउँदा लागत बढ्छ

काठमाडौँ— नेपालमा वार्षिक ४ हजार मेट्रिक टनभन्दा बढी पाउडर दूधको माग छ । तर नेपाली उद्योगले १ हजार ४०० मेट्रिक टनमात्र उत्पादन गर्छन् ।

आखिर नेपालमा किन पाउडर दूध उत्पादन बढ्न सकेको छैन ? उद्योगहरू किन उदासीन छन् ?

हाल चितवन मिल्क (चितवन), सुजल फूड प्रालि (पोखरा) र दुग्ध विकास संस्थानको विराटनगर प्लान्ट गरी पाउडर उत्पादन गर्ने तीन वटा उद्योग छन् ।

चितवन मिल्कले दैनिक एक लाख लिटर, सुजल फूडले दैनिक डेढ लाख लिटर र विराटनगरस्थित प्लान्टले ६० हजार लिटर दूधबाट पाउडर उत्पादन गरिरहेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव नवीन घिमिरेका अनुसार नेपालमा पाउडर दूधको माग वार्षिक करिब चार हजार मेट्रिक टन छ । उत्पादन भने वार्षिक १ हजार ४०० मेट्रिक टनमात्र छ ।

दूध बढी उत्पादन हुने समयमा पाउडर दूध उत्पादन गरी ड्राइ सिजन (दूध कम उत्पादन हुने समय) मा प्रयोग गर्न सकिन्छ । ड्राइ सिजनमा तरल दूध बनाएर उपभोक्तासम्म पुर्‍याउन सकिन्छ । आइसक्रिम, मिठाई, चकलेट, बेबी फूड (बालबालिकाका तयारी खाना) लगायत दुग्ध परिकार बनाउन पनि पाउडर दूध प्रयोग हुन्छ ।

दुग्ध विकास संस्थान (डीडीसी) का सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार दूध उत्पादनका हिसाबले वैशाखदेखि भदौसम्म ड्राइ सिजन हो । यो अवधिमा जति दूध उत्पादन हुन्छ, असोजदेखि चैतसम्म त्यसको दोब्बर उत्पादन हुन्छ ।

दुग्ध व्यवसायीहरूका अनुसार नेपालमा दैनिक सरदर ६० लाख लिटर दूध उत्पादन हुने गरेको छ ।

पाउडर बनाउँदा लागत बढ्छ

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार दूध संकलन गरेर पाउडरमा रूपान्तरण गर्दा खर्च २५ प्रतिशतले बढ्छ ।

उनी भन्छन्, ‘किसानले उत्पादन गरेको हरेक दिनको दूध पाउडरमा कन्भर्सन (रूपान्तरण) गरेर ड्राइ सिजनमा प्रयोग गर्ने संघको नीतिगत निर्णय छ, संघले ५ वर्षदेखि यही विषयमा काम गरिरहेको छ ।’

उनका अनुसार ५० रुपैयाँ प्रतिलिटर दूधलाई पाउडरमा रूपान्तरण गरी सञ्चय गरेर राख्न र पछि फेरि दूध बनाउन २१ देखि २५ प्रतिशत लागत बढ्न जान्छ । अर्थात्, १ लिटर तरल दूधमा साढे १२ रुपैयाँ अतिरिक्त खर्च पर्न जान्छ ।

दूध उत्पादन बढी हुँदा संकलन नगर्ने र उत्पादन घट्दा मूल्य थोरै बढाएर संकलन गर्ने ससाना डेरी सञ्चालकहरूको प्रवृत्तिका कारण डेरी उद्योगहरू मर्कामा परेको दाहालको भनाइ छ ।

‘किसानसँग दूध बढी भएका बेला वास्ता नगर्ने र कम भएका बेला ५ रुपैयाँ बढी दिएर सबै दूध उठाइदिने गर्छन्,’ उनले खबरहबसँग भने, ‘डेरीले २५ प्रतिशत खर्च बढाएर पाउडर बनाउन सकिँदैन ।’

नेपाली उत्पादन सस्तो

मूल्यका हिसाबले नेपालमा उत्पादित पाउडर दूध आयातीत भन्दा सस्तो छ । हाल आयातीत पाउडर दूध प्रतिकेजी सरदर ६०० रुपैयाँ हुँदा नेपाली उत्पादनको ५५० रुपैयाँमात्र छ ।

नेपाली पाउडर दूध कहिल्यै पनि खेर गएको छैन । यस वर्ष कोभिडका कारणले समयमा बजारमा जान नसकेको अध्यक्ष दाहालको भनाइ छ । उनका अनुसार वर्षभरि नै उद्योग चलाउन सक्ने गरी दूध उत्पादन नहुने हुनाले पाउडर दूध उद्योग फस्टाउन नसेकेको हो ।

हाल सञ्चालमा रहेका उद्योगको क्षमता बढाउन पनि सकिन्छ तर दूध कम उत्पादन हुने सिजनमा बन्द राख्नुपर्ने भएकाले खर्च धान्न नसक्ने अवस्था हुन्छ ।

दाहाल भन्छन्, ‘एउटा प्लान्टले दैनिक एक लाख लिटर दूध खपत गरेर पाउडर बनाइरहेको छ भने क्षमता बढाएर दोब्बर बनाउन सकिन्छ । यसो गर्न २० करोड रुपैयाँ थप लगानी पर्न जान्छ । नयाँ उद्योग सञ्चालन गर्न ५० करोड रुपैयाँ पर्न जान्छ । यस्तो उद्योग ५—६ महिनामात्रै चलाएर खर्च धान्न सकिँदैन ।’

सरकारले कृषकलाई दूध उत्पादनका लागि प्रोत्साहित गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

वर्षभरि नै पाउडर दूधको माग राम्रो छ । अहिले सुजल फूड्सले दैनिक डेढ लाख लिटर दूधबाट पाउडर उत्पादन गरिरहेको छ ।

उद्योगका उपनिर्देशक निरज श्रेष्ठका अनुसार सुजल फूड्सले ‘अमेरिकन डेरी इन्डस्ट्रि एसोसिएसन’ को मापदण्डअनुसार पाउडर उत्पादन गरिरहेको छ । उच्च प्रविधिको पाउडर दूध १८ महिनासम्म सुरक्षित रहने उनको भनाइ छ ।

वार्षिक १ अर्बभन्दा बढीको आयात

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ७० करोड ९१ लख ३५ हजार रुपैयाँको १ हजार २१ मेट्रिक टन पाउडर दूध आयात भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ९ करोड १६ लाख ७६ हजार रुपैयाँको १ हजार ८८१ मेट्रिक टन आयात भएको थियो ।

यसै गरी आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ११ करोड ८ लाख ६६ हजार रुपैयाँको २ हजार ५९० मेट्रिक टन र आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ७१ करोड ३२ लाख ७४ हजार रुपैयाँको ४ हजार ८७६ मेट्रिक टन आयात भएको थियो ।

khabarhub

 

You might also like

Leave A Reply

Your email address will not be published.