कृषि कर्ममा रमाउँदै माओवादी नेता सुवेदी

तनहुँ (मुलपानी)– माओवादीका नेता बाबुराम सुवेदीले पशुपालन गर्न लागेको झण्डै तीन वर्ष पुग्यो । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ मुलपानीका सुवेदी पछिल्लो समय मोहन वैद्य निकट माओवादीको केन्द्रीय नेता हुनुहुन्छ ।

माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि राजनीतिमा कुनै उपलब्धि नदेखेपछि उहाँले कृषि कर्म रोज्नुभयोे । तीन वर्षअघि भारतको गुजरात पुगेर उहाले नौ वटा भैंसी ल्याउनु भएको थियो । झण्डै २० लाखको प्रारम्भिक लगानीमा भैंसीपालन ब्यवसाय गर्नु भएका सुवेदीको अहिलेसम्म झण्डै एक करोड लगानी पुगिसकेको छ ।

साना ठूला गरी सुवेदीको गोठमा अहिले ३० वटा भैंसी छन् भने दैनिक ८० देखि १०० लिटर दूध उत्पादन भइरहेको उहाँ बताउनु हुन्छ । सुवेदीलाई आफ्ना परिवारका सदस्यहरुले पनि साथ दिइरहेका छन् । दुई भाई जुम्ल्याहा छोराहरुले दूध दुहुनेदेखि बजारमा लगेर बेच्ने समेत काम गर्नु हुन्छ ।

दैनिक पोखरा लगेर दूध बिक्री

तनहुँको दुलेगौंडा बजारदेखि झण्डै तीन किलोमिटर पश्चिम सेतीनदीको किनारमा सुवेदीको ढोरफिर्दी कृषि फर्म प्रालि छ । पोखराबाट ३५ किलोमिटर टाढा पर्ने मुलपानीबाट दैनिक पोखरा लगेर सुवेदीले दूध बिक्री गर्नुहुन्छ ।

विहान ५ नबज्दै उहाँको दूध पोखरामा लगेर पनि बिक्री भइसकेको हुन्छ भने बेलुका ४ बजे नै पोखरामा दूध पुर्याउनु हु्न्छ । नजिकैको बजार दुलेगौंडामा भन्दा पोखरामा पुर्याएपछि दूधको मूल्य पनि राम्रो पर्ने भएकाले पनि उहाँले पोखरा लगेर दूध बेच्ने गर्नु भएको हो ।

नाम अनुसारकै पानी

साविकको ढोरफिर्दी गाविसको मुलपानीमा पानीमा मुहानै छ भन्दा फरक पर्दैन । ठाउँ ठाउँमा पानीका मुल फुटेका छन् । त्यसैले होला, यो ठाउँको नाम पनि मुलपानी भएको छ । प्रशस्त मात्रामा पानीको मुल फुट्ने भएकाले सिँचाइका लागि पनि कुनै समस्या छैन ।

न त बोरिङ खन्नुपर्ने समस्या न त सिँचाईको अन्य कुनै ब्यवस्था गर्नुपर्ने झन्झट । भिरालो जमिनमा उम्रिएको पानीले गोठमा मात्र नभई सिँचाइलाई पनि प्रशस्त पुगेको छ ।

पशुपालनसँगै मत्स्यपालन

तीन वर्षदेखि भैंसीपालन ब्यवसाय शुरु गर्नु भएका सुवेदीले गत चैतदेखि माछापालन पनि थाल्नु भएको छ । मुलपानीको पानीले भैंसीगोठ र घाँसबारीदेखि माछापोखरीलाई पनि पनि पुगेको छ ।

पशुपालन ब्यवसायबाट सोँचेजस्तो आम्दानी नभएपछि उहाँले माछापोखरी खनाउनुभयो । उहाको अहिले ५ वटा माछापोखरी छ । ब्यवस्थित गरेर तयार पारिएको पोखरीमा पालेको माछाले उत्पादन दिन थालेपछि उहाँ माछाबाट भने निकै सन्तुष्ट देखिनु भएको छ ।
झण्डै दुई विगाहा क्षेत्रमा घाँस उत्पादन गर्नु भएका सुवेदीले अरु एक विगाहा क्षेत्रफलको जग्गामा बहुवर्षे घाँस सुपर नेपियर लगाउने योजना बनाउनु भएको छ ।

पशुपालनसँगै मत्स्यपालन ब्यवसाय शुरु गरेका उहाँले ब्यवसायिक तरकारी खेति पनि गर्ने योजना बनाउनु भएको छ । लामो समय राजनीतिक पेशामा लागेका उहाँले कृषि कर्मबाट नै भविष्य खोज्न थाल्नु भएको छ ।

मलुकको समृद्धिको कुरा गर्ने अन्य राजनीतिक पार्टीका नेताहरुले कृषि क्षेत्रलाई नै समृद्धिको आधार मान्ने गरेका छन् । तर राज्यले कृषि क्षेत्रमा भने केही पनि गर्न नसकेको उहाँको गुनासो छ ।

पछिल्लोसमय सुवेदीजस्तै लामोसमय युद्ध लडेका माओवादी नेता कार्यकर्ताहरु कृषि कर्ममा रमाउन थालेका छन् । पूर्वमन्त्रीसमेत भइसकेका माओवादीका नेता लोकेन्द्र बिष्टमगरले पनि दाङ्मा ड्रागनफलको खेति गरेर चर्चाको शिखरमा हुनुहुन्छ ।

खबरहबबाट

You might also like

Leave A Reply

Your email address will not be published.