तरकारीमा विचौलियाको मनपरी, विचौलियालाई सरकारको संरक्षण

काठमाडौँ — चितवनस्थित महानगर फलफूल तथा तरकारी बजारले शुक्रबार काउलीको मूल्य प्रतिकिलो न्यूनतम मूल्य ८ देखि अधिकतम १० रुपैयाँ तोक्यो । करिब १ सय ५४ किलोमिटर दूरी रहेको काठमाडौंमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भने प्रतिकिलो न्यूनतम ३० देखि ४० रुपैयाँ (होलसेल मूल्य) तोकेको छ । काठमाडौं वरिपरिका खुद्रा बजारमा भने काउली किलोकै ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

महानगरले ब्रोकाउलीको न्यूनतम मूल्य १८ देखि अधिकतम २५ रुपैयाँ तोकेको छ । बिहीबार कालीमाटी बजारले होलसेल मूल्य न्यूनतम २५ देखि अधिकतम ३० रुपैयाँ तोकेको थियो । खुद्रामा किलोको १ सय रुपैयाँसम्म बिक्री भयो । यस्तै महानगरले करेलाको न्यूनतम मूल्य प्रतिकिलो ६५ देखि ७५ रुपैयाँसम्म तोक्यो । कालीमाटीमा होलसेल मूल्य प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ थियो । खुद्रा बजारमा १ सय ६० रुपैयाँ परेको थियो ।

घिउसिमी हाइब्रिडको मूल्यको अवस्था पनि उस्तै छ । महानगरले प्रतिकिलो २० देखि २५ रुपैयाँ निर्धारण गरेको घिउसिमी हाइब्रिड कालीमाटी बजारमा होलसेल मूल्य नै ५० देखि ६० रुपैयाँ तोकिएको छ । खुद्रामा ८० रुपैयाँसम्ममा बिक्री भएको छ ।

उल्लिखित मूल्य केही उदाहरण मात्रै हुन् । किसानको बारीबाट खुद्रा बजारसम्म आइपुग्दा बिचौलियाहरूकै राजका कारण किसान र उपभोक्ता सधैं मर्कामा छन् । बिचौलियाकै तह निर्धारण गर्ने र समस्या समाधान गर्न अध्ययन नभएको पनि होइन । सरकारी अधिकारीहरूले आधा दर्जनभन्दा बढी प्रतिवेदन बनाएका छन् । तर ती प्रतिवेदन दराजमै सीमित हुँदा बजार सुधार हुन नसकेको जानकारहरू बताउँछन् ।

‘किसानले पाँच किलो काउली बिक्री गर्दा २५ रुपैयाँ पाएका छन् तर बीचमा हुने तहले मूल्य अस्वाभाविक बढाउँछन् । कालीमाटीदेखि खुद्रासम्म आउँदा मूल्य झ्याप्पै बढ्ने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो ।

किलोको ५ रुपैयाँ उठाएर उपभोक्तालाई ५० रुपैयाँमा बिक्री गर्नु दादागिरी भएको महर्जनको भनाइ छ । तरकारी व्यवसायी र बिचौलियाका अगाडि सरकार निरीह हुँदा यस्तो समस्या देखिएको महर्जनले बताउनुभयो ।

चितवन, मकवानपुर, धादिङलगायत क्षेत्रका तरकारी बजारमुखी हुन् । किसानले बाहिरी जिल्ला/बजारलाई केन्द्रित गरेर खेती गर्छन् । त्यहाँको अधिकांश तरकारी कालीमाटी तरकारी बजारमा बिक्री हुन्छ । तर बिचौलियाकै कारण किसान र उपभोक्ता मारमा पर्ने गरेका छन् ।

ती क्षेत्रबाट खरिद गरी काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा बिक्री गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवन प्रमुख मेघनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । तर पछिल्ला दिनमा किसानले पाउने काउलीको मूल्य घटेको उहाँको भनाइ छ । काउलीसँगै टमाटरमा नाफा नभएको उहाले बताउनुभयो ।
‘प्रतिकिलो काउली ८÷१० रुपैयाँमा बेच्दा किसानलाई फाइदा हुँदैन । किसानले प्रतिक्यारेट टमाटर ७ सय ५० मा बिक्री गरिरहेका छन्, त्यो भनेको थोरै नै हो,’ उनले भने, ‘किसानले ९ सयदेखि १ हजारसम्ममा बिक्री गरे मात्रै फाइदा हुन्छ ।’

पछिल्लो समय स्वदेशी उत्पादन पनि बजारमा आएकाले प्रतिस्पर्धाका कारण किसानले सस्तोमा बेच्नुपरेको उहाँको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि केही दिनयता हिउँदे तरकारीको भाउ घटेको जानकारी दिनुभयाे ।

स्वदेशी उत्पादनसँगै भारतबाट पनि आयात भइरहेको छ । उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लासँगै भारतबाट पनि तरकारी भित्रिन्छ । यी क्षेत्रबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत तरकारी बजारमा बिक्री हुन्छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ ।

समितिका अनुसार कालीमाटी बजारमा हाल दैनिक आठ सय टन तरकारी भित्रिन्छ । उक्त परिमाण पर्याप्त हो । तर खुद्रा बजारकै कारण सर्वसाधारणलाई भार परेको श्रेष्ठको दाबी छ ।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा पनि खुद्रामा अस्वाभाविक रूपमा बढाएको देखिएको थियो । विभागले उपत्यकाका विभिन्न ३३ वटा तरकारीका खुद्रा पसलमा निरीक्षण गरी तयार पारेको प्रतिवेदनमा एकै ठाउँका पसलमा प्रतिकिलो औसतमा १० देखि १५ रुपैयाँ फरक देखिएको थियो । गोलभेंडामा ६० देखि १ सय २० रुपैयाँसम्म फरक देखिएको विभागले जनाएको छ ।

–कान्तिपुरबाट

You might also like

Leave A Reply

Your email address will not be published.