चितवनमा व्यावसायिक रूपमा पाल्न थालियो झिँगा

व्यावसायिक रूपमा पशुपंक्षी पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। त्यसप्रतिको आकर्षण, त्यसबाट भएका फाइदाबारे पनि हामीले सुन्दै आएका छौं। तर कामै नलाग्ने वस्तु भनेर हेप्ने गरिएको ‘झिँगा’कोसमेत व्यावसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला।

पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउने उद्देश्यले चितवनमा व्यावसायिक रूपमै झिँगापालन सुरू गरिएको छ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १५ फूलबारीमा रहेको प्रांगारिक कृषि उत्पादन केन्द्रले ब्ल्याक सोल्जर फ्लाई(बिएसएफ) नामको झिँगाको व्यावसायिक पालन सुरू गरेको हो। अंग्रेजी नामलाई नेपालीमा रूपान्तरण गर्दा ‘कालो सिपाही झिँगा’ हुन्छ।

राष्ट्रिय आविस्कार केन्द्रको आर्थिक सहयोग, चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रचार निर्देशनालय र पशु आहार विभागको प्राविधिक सहयोगमा विश्वविद्यालयका ५ जना विद्यार्थीले गरेको अनुसन्धानका आधारमा केन्द्रले झिँगा पाल्न थालेको प्रबन्ध निर्देशक चन्द्रप्रसाद अधिकारीले बताए।

गत असोज दोश्रो साता अनुसन्धानकर्ता तथा सहयोगी सबै निकायसँग सम्झौता गरेपछि व्यवसायिक रूपमा झिँगा पाल्ने र बिक्री वितरण गर्ने बाटो खुलेको अधिकारीले बताए।

अनुसन्धान टोलीका संयोजक डा.विप्लव सापकोटाले सन् २०१८ बाट करिब दुई वर्ष लगाएर गरिएको अनुसन्धानबाट बिएसएफको लार्भा र प्युपा नेपालमा पशुपंक्षी तथा बालीको उत्पादकत्व बढाउन प्रभावकारी रहेको निष्कर्षमा पुगेको बताए।

‘अमेरिका, युरोप, चीन, इन्डोनेसियालगायतका देशमा यसको प्रयोग बढ्दै गए पनि नेपालमा यसको प्रभावकारिताबारे अध्ययन भएको थिएन,’ सापकोटाले भने, ‘हामीले दुई वर्ष लगाएर गरेको अनुसन्धानले नेपालमा यसको प्रयोगबाट धेरै फाइदा लिन सकिने सम्भावनाहरू देखिएका छन्।’

यो झिँगाले बालीदेखि पंक्षीसम्मलाई फाइदा पुग्ने अनुसन्धानले पुष्टि गरेको छ।

विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयमा लामो समय अनुसन्धान निर्देशक भएर काम गरेका प्रा.डा.नवराज देवकोटाकाअनुसार ब्ल्याक सोल्जर फ्लाईको एक प्रजाति हो जसबाट अत्याधिक मात्रामा प्रोटिन संकलन गर्न सकिन्छ।

त्यो प्रोटिनलाई पशुपंक्षी तथा माछाको दानामा प्रयोग गरिने भटमास, तोरी र बदामको पिना, सिद्रा माछालगायतको विकल्पमा प्रयोग गर्न, पशुपंक्षीलाई सिधै खान दिन सकिने उनले बताए।

उनकाअनुसार जीवित लार्भामा ३७ देखि ६३ प्रतिशतसम्म प्रोटिन, ३५ प्रतिशत चिल्लो पदार्थ तथा प्रशस्त मात्रामा अन्य माइक्रो र म्याक्रो पोषण तत्व हुन्छ। प्रशोधन गरिएको लार्भामा ६२ प्रतिशत प्रोटिन र १० प्रतिशत चिल्लो पदार्थ हुने भएकाले यसले पूर्ण दानाको काम गर्ने उनी बताउँछन्।

विगतमा पाँच वटा कुखुराबाट औसत दैनिक तीन वटा अण्डा उत्पादन हुने गरेकोमा बिएसएफको लार्भा खुवाइएपछि दैनिक पाँचवटा अण्डा उत्पादन भएको सापकोटाले बताए। उनले भटमासको विकल्पमा लार्भालाई धुलो बनाएर तयार पारिएको दानाले उत्पादन बढेको बताए।

विश्वविद्यालयका विद्यार्थीहरूले पशु विकास फार्मअन्तर्गतको दुई वटा भवनमा चमेना गृहबाट उत्पादन भएर खेर गएको खाने कुरा, तरकारी पसलमा बिक्री नभएका तथा कुहिएका तरकारीहरू, पाउरोटी उद्योगबाट निस्कने फोहोर, कुखुराको राम्रो तथा कुहिएको दाना र गाई, भैंसीलाई खुवाइने राम्रो तथा कुहिएको चोकरमा झिँगा हुर्काएर अनुसन्धान गरेका थिए।

‘यी सबै कुहिने फोहोरमा राम्रो परिमाणमा लार्भा उत्पादन हुने देखियो,’ सापकोटाले भने, ‘यसको उत्पादन फोहोर व्यवस्थापनका लागि पनि महत्वपूर्ण हुने भयो।’

उनले लार्भा र प्युपा बसेको फोहोरलाई बालीमा मलको रूपमा प्रयोग गर्न सकिने बताए।

विभिन्न देशहरूमा गरिएको अनुसन्धानले पनि कुहिने फोहोरलाई अहिलेसम्म पहिचान भएका किराहरूमध्ये यसले सबैभन्दा तीव्र र फाइदाजनक तवरले प्रोटिनमा रूपान्तरित गर्ने काम गरेको पुष्टि भएको सापकोटाले बताए।

कुखुराको सुलीमा हुर्किएको लार्भालाई सोही कुखुराको दानाको रूपमासमेत प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरू बताउँछन्।

‘५ ग्राम अण्डामार्फत् एक सय किलो फोहोरमा १० दिनको अवधिमा ३० किलोसम्म लार्भा हुर्कने र त्यसबाट २० किलोसम्म अर्ग्यानिक मल उत्पादन हुने रहेछ,’ उनले सुनाए, ‘अनुसन्धानबाट झिँगापालनमार्फत् दानाको लागि आवश्यक कच्चा पदार्थ आयातमा नियन्त्रण गर्नुका साथै कृषिका लागि आवश्यक स्तरीय प्रांगारिक मलको पनि व्यवस्था हुने देखियो।’

अन्य झिँगाले खाद्यवस्तुमा असर गर्ने, रोगको संक्रमण बढाउने गरेको भएपनि यसले कुनै असर नगर्ने सापकोटा बताउँछन्।

‘यो झट्ट हेर्दा हाम्रो वरपर उडिरहने सामान्य झिँगाभन्दा फरक देखिँदैन तर यसका गुणहरू बढी हुन्छन्,’ सापकोटाले भने, ‘अन्य झिँगाले मान्छेको वरिपरि आएर खानामा असर गर्ने गर्छन् यसले पानीबाहेक केही पनि खाँदैन।’

अनुसन्धानले बिएसएफ लार्भामा एन्टिओवाइटिक तत्व रहेको पुष्टि गरेको सापकोटाले बताए।

‘यसको लार्भा मिसाइएको मासुमा उक्त तत्व हुने भएकाले स्वस्थकर हुन्छ,’ उनले भने।

ब्ल्याक सोल्जर फ्लाई उष्ण प्रदेशीय झिँगाको प्रजाति हो। यसको जीवनचक्र लगभग ४५ दिनको हुन्छ। वयस्क किरा(उड्ने अवस्था)को उमेर ५/६ दिनमात्रै हुन्छ। एउटा पोथीले ४ सयदेखि एक हजार वटासम्म अण्डा पार्छ। फोहोरमा हुर्कने लार्भा ३.१९ एमएमसम्मको हुन्छ। त्यो अवस्थामा पुग्नको लागि १० देखि १४ दिनसम्म लाग्छ।

त्यसपछि लार्भा प्युपामा परिणत हुन्छ। प्युपामा परिणत भएपछि त्यो फोहोरमा बस्न छाड्छ।

‘लार्भा र प्रि–प्युपालाई दानाको रूपमा प्रयोग गर्न सकिन्छ,’ सापकोटाले भने।

यसलाई छिटो हुर्काउन सूर्यको किरण आवश्यक पर्छ। जाडोयाममा यसको जीवनचक्र गर्मीको तुलनामा लम्बिने गरेको पाइएको छ। वर्षायाममा बादलले आकाश ढाकेर सूर्यका किरणहरू अवरोध गर्ने भएकाले अन्डा उत्पादनमा कमी आएको अनुसन्धानले देखाएको छ।

यो प्रजाति नेपालमा पनि देखिएको भएपनि यसको अण्डा संकलन गरेर व्यावसायिक रूपमा प्रजनन् गराउन समस्या थियो। उनीहरूले सम्पूर्ण सरकारी प्रकृया पुरा गरी इन्डोनेसियाको फवार्ड नामक संस्थाबाट यसको २० हजार वटा प्युपा आयात गरे।

आयातमा धेरै समय लाग्दा तीमध्ये २०० वटामात्र बचेका थिए। त्यसका लागि मात्रै डेढ लाख रुपैयाँ खर्च भएको थियो।
बाँकी सबै अनुसन्धान पुरा गर्दा १२ लाख रुपैयाँ खर्च भएको सापकोटाले बताए।

‘यो सबै खर्चको व्यवस्थापन महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले गरिदियो, अनुसन्धान तथा प्रसार निर्देशनालयले अनुसन्धानका लागि आवश्यक भवनको व्यवस्थापन, ल्याव र किरा आयातमा सहजीकरण गर्‍यो,’ उनले भने, ‘हाम्रो समूहले विश्वविद्यालयका प्राध्यापक तथा अन्य विद्यार्थी साथीहरूको पनि सहयोग लिएर अनुसन्धान सफल बनायौं।’

१५ हजारमा तीन हजार झिँगा र तालिम

लामो समयदेखि अर्ग्यानिक खेतीको अभियान्ताका रूपमा सक्रिय रहँदै आएका चन्द्रप्रसाद अधिकारी अचेल झिँगाको लार्भा उत्पादनमा सक्रिय छन्।

बन्द कोठाको बन्द झुलभित्र उडिरहेका काला झिँगा र तिनले दिएका अण्डालाई कुहिने फोहोरमा लार्भा बनाए दाना र बिउका लागि योग्य बनाउने काममा खटिन्छन् उनी।

ब्ल्याक सोल्जर फ्लाइको बारेमा सुन्ने धेरैले खोजीनीति गर्दै उनलाई फोन गर्ने गरेका छन्।

‘सम्भव भएसम्म यहीँ बोलाउने, देखाउने, बुझाउने गरेको छु,’ उनले भने, ‘कोभिड १९ को जोखिमका कारण धेरैलाई एकैचोटी बोलाउन मिलेको छैन, पालैपालो आइरहनुभएको छ।’

उनले देशका विभिन्न ठाउँबाट करिब एक सय जनाले यस विषयमा चासो राखेको बताए। उनीहरू कुखुरा, हाँस, कालिजलगायतको पालन गर्नेहरू थिए।

उनीहरूमध्ये आधा दर्जनले यहीँ आएर तालिम लिएर झिँगाको बीउ(लार्भाबाट प्युपा बन्दै गर्दाको) खरिद गरेर लगेको अधिकारीले बताए।

प्रांगारिक कृषि उत्पादन केन्द्रले प्राविधिकलाई उपस्थित गराएर तालिम दिएपछि मात्रै बीउ उपलब्ध गराउने गरेको छ। तालिम सहित तीन हजार थान बीउको १५ हजार रुपैयाँ लिने गरेको केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले बताए।

तर यसरी किनेर पाल्नेले आधिकारिक रूपमा बिक्री गर्न भने पाउने छैनन्। सरकारले अहिलेसम्म बिक्रीको अनुमति प्रांगारिक कृषि उत्पादन केन्द्रलाई मात्रै दिएको छ।

‘अहिलेको उद्देश्य भनेको कुखुरालगायतका पंक्षी पाल्दै आएका किसानहरूलाई महंगो मूल्य तिरेर दाना किन्नैपर्ने बाध्यता हटोस् भन्ने छ,’ अधिकारीले भने, ‘कुखुरा पाल्ने सबैले बिएसएफ पनि पाल्दा दानाको ठूलो खर्च जोगिन्छ।’

उत्पादन हुने लार्भाको ८० प्रतिशत हिस्सालाई दानाका रूपमा प्रयोग गरी बाँकीलाई बीउ बनाउन सकिने उनले बताए।

लार्भाबाट सुरू हुने जीवनचक्र नियमित चलिरहने भएकाले किसानको सधैँको चिन्ता हट्ने अधिकारी बताउँछन्।

‘यसका साथै उहाँहरूको घरबाट निस्कने फोहोरको व्यवस्थापन गर्न पनि सजिलो हुने भयो,’ उनले थपे, ‘काम नलाग्ने भनेर फालिएको फोहोरलाई मोहरमा परिणत गर्ने अवसर पनि हो यो।’

केन्द्रले अहिले रहेको संरचनालाई विस्तार गरेर ठूलो क्षमतामा लार्भा उत्पादन गर्ने सोच बनाएको छ। अहिले केन्द्रमा करिब दुई क्विन्टल लार्भा छन्।

आयात नियन्त्रणको आशा

नेपालमा कुखुरा पालन गर्दा चाहिने दानाका आवश्यक कच्चा पदार्थको ठूलो हिस्सा आयात गर्नुपर्ने बाध्यता छ। मासु र अन्डाका लागि आत्मनिर्भर भनिए पनि दानाका कच्चा पदार्थ आयात गर्नुपर्दा मासु र अण्डा उत्पादनको लागत मूल्य बढ्ने गरेको छ।

नेपालले दानाको कच्चा पदार्थ आयातका लागिमात्र झन्डै १७ अर्ब रुपैयाँ खर्च गरेको तथ्यांक पोल्ट्री व्यवसायी महासंघसँग छ। यसमध्ये प्रोटिनयुक्त कच्चा पदार्थका लागि मात्र करिब ३ अर्ब खर्च हुने गरेको छ।

‘बिएसएफको व्यवसायिक पालनले यो खर्च घटाउन सकिन्छ,’ प्रा.डा.देवकोटा भन्छन्, ‘यसका लागि अब प्रचारप्रसारको मात्र आवश्यकता छ।’

उनले यसको व्यावसायिकतामा वृद्धि गर्दै किसानको लागत मूल्य र उपभोक्ताले किन्ने मूल्यमा नियन्त्रण गर्न सकिने बताए।

‘प्रोटिनका लागि प्रयोग गरिँदै आएका वस्तुको विकल्प के हुन सक्छ भनेर हामीले धेरै खोज गर्‍यौं, नार्क, नास्ट तथा विभिन्न देशका विज्ञहरूसँग छलफल गरियो,’ उनले भने, ‘अन्तत: यसमा सफलता मिल्यो, कल्पनै नगरेको चिज प्रोटिनको स्रोतका रूपमा आएको छ। अब देशले लिने फाइदा यसको व्यवस्थापनमा भर पर्छ।’

उनले एउटै पोथीले सयौं अण्डा पार्ने भएकाले उत्पादन छिट्टै विस्तार गर्न भने असहज नहुने बताए ।

ल्याण्डफिल साइटको विकल्प

फोहोर व्यवस्थापन सहरी क्षेत्रको ठूलो समस्या बनिरहेको छ। यसका लागि ठूलो लगानीमा ल्याण्डफिल साइट निर्माण गर्ने तयारीमा सरकारी निकाय छन्।

बिएसएफको व्यवसायिक पालन विस्तारले कुहिने फोहोरको सहज व्यवस्थापन हुने दाबी अनुसन्धानकर्ताहरूको छ।

‘यसका लागि हामी छिट्टै स्थानीय तहहरूसँग छलफल गर्दैछौं,’ केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले भने, ‘व्यावसायिक पालन बढाउँदै जाँदा यसलाई आवश्यक पर्ने फोहोर नै नपुग्ने हो कि भन्ने चिन्ता हामीलाई छ।’

भरतपुर महानगरपालिकाले फोहोर फाल्ने उचित ठाउँको अभावमा वर्षौंदेखि नारायणी नदीको किनारमा सबै किसिमका फोहोर फाल्दै आएको छ। यसबाट उत्पन्न प्रदुषणले उक्त क्षेत्र आसपासका बासिन्दाको स्वास्थ्यमा असर परिरहेको छ।

केही वर्षअघि मात्रै महानगरले कुहिने फोहोरबाट ग्यास निकाल्ने योजना बनाए पनि यो योजना अघि बढ्नै सकेन।

महानगरबाट दैनिक निस्कने ७० टन फोहोर मध्ये ५० प्रतिशत कुहिने फोहोर हुने गरेको छ।

‘महानगरसँग समन्वय गरेर हामी त्यसको व्यवस्थापन गर्न सक्छौं,’ अधिकारी भन्छन्, ‘अन्य ठाउँमा पनि यस्तै अवस्था ल्याउन सकिन्छ।’

सेतोपाटीबाट

You might also like

Leave A Reply

Your email address will not be published.