अमेरिकाको भूतले २० लाख डुब्यो, १५ लाखले पशुपालन फस्टायो

बलेवा (बाग्लुङ)– बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई अमेरिकाको भूत चढ्यो । अमेरिका पुगेर पैसा कमाउने सोंच बनाएर अमेरिका हिडेका शर्मालाई दलालले फसायो ।

अमेरिका हिडेका उनी न त अमेरिका पुगे न त ऋणधन गरेर बुझाएको पैसा नै फिर्ता आयो ।
सँगैका साथी जापान, अमेरिका, युरोपमा भएकाले उनलाई अमेरिका जाने योजना बनाएका थिए ।

एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर २० लाख रुपैया सकियो । त्यसपछि उनी एक वर्ष काठमाडौंमा बिताए । त्यसपछि गाउँ फर्किएर कृषि कर्ममा लाग्ने योजना बनाए ।

एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दैछन् ।
बागलुङ नगरपालिका–३ हाडेपाखामा उनका बाबु शिवप्रसादले परम्परागत पशुपालन गर्दै आएका थिए ।

अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोजेका गणेशले परिवारको पनि साथ पाए ।
उनले अहिले ब्यवसायिक रुपमा फर्म दर्ता गरी हाडेपाखामा सात वटा भैँसी र तीन वटा पालेका छन् ।

‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उनी आफैँ, आमा गीता र श्रीमती उषाको उत्तिकै खटाइ छ ।
विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उहाँलाई फार्मका लागि लगाउनुपरेको छैन ।

रू १५ लाख लगानीमा सुरू भएको उनको फार्मबाट अहिले मासिक एक लाख बढी कमाउछन् ।

“लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्छन्, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।”
आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उनले बुझेका छन् ।

“बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भने, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”

उहाँको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन ।
“साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन”, उनले भने, “शुद्ध दूध खोज्ने धेरै छन् ।” मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।

गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना बनाएका छन् ।

“पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रू २० लाख थप लगानी गर्ने हो”, उनले भने, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।”
हाडेपाखामा वार्षिक रू ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उहाँको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ ।

“दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उनले भने । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ ।

बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् भने हिउँदमा परालको जोहो गर्ने गरेको उनले बताए ।

“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उनले भने, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लाग्दा लिएको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना उनले बनाएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.