पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यपुत्रको बोयर बाख्रा फार्म

‘किसानलाई कागजमा मात्रै मुनाफा’

नारायण पंगेनी

सिख्रौली (नवलपुर)– टंकप्रसाद आचार्य नेपालका १८ औं प्रधानमन्त्री हुन् । बि.सं. २०१४ असार ३१ गतेदेखि १७ महिना नेपालको प्रधानमन्त्री भएका थिए । राणा शासनविरुद्ध आन्दोलनको जेहाद छेंडेका पाँच युवा मध्येका एक हुन् आचार्य । आचार्यसहित दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्माले २००७ सालको क्रान्तिको आधारभूमि तयार पारेका थिए ।

राणाशासनको अन्त्यपछि वि.सं.२०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा टंकप्रसाद आचार्य गृहमन्त्री थिए ।
वि.सं. १९९३ सालमा २२ वर्षको युवा उमेरमा नेपाल प्रजा परिषद्को स्थापना गरेका आचार्य २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसका सभापति समेत भए ।

आचार्यले नेपालमा पञ्चवर्षीय योजनाको थालनी मात्र गरेनन्, नेपालको मन्त्रिपरिषद् बैठकमा भारतका कर्मचारीलाई बसाल्ने नियम खारेज गरेका थिए । आचार्यकै कारण भारत चिढिएको भन्दै राजा महेन्द्रले आचार्यको राजीनामा मागे र डा. केआई सिंहलाई प्रधानमन्त्री बनाएका थिए ।

यिनै राष्ट्रवादी छबिका तत्कालिन प्रधानमन्त्री आचार्यका छोरा वीरभद्र आचार्य ६ वर्षअघिदेखि बाख्रापालन ब्यवसाय सञ्चालन गरेर बसेका छन् । बुवा राजनीतिमा लाग्नु भएको भए पनि आफूलाई राजनीतिमा चाहना नभएको आचार्यले बताए । टीका लगाएर राजनीतिमा लाग्न उचित नभएको तर पनि देशलाई कन्ट्रिब्यूट गर्नकै लागि कृषिलाई आफ्नो पेशा बनाएको उनले स्पष्ट गरे ।

टंकप्रसाद आचार्यका तीन छोरा र चार छोरी मध्येका कान्छा हुन्, वीरभद्र । माइला छोरा कुशुमाकरको भने १० वर्षअघि निधन भइसकेको छ । रसियामा इन्जिनियर पढेका कुशुमाकर जलस्रोत मन्त्रालय अन्तर्गत विद्युत् विकास केन्द्रमा जागिरे थिए । जेठो छोरा पनि अवकाशप्राप्त सरकारी इन्जिनियर हुन् ।

तीन भाइका कान्छा छोरा वीरभद्रका एक छोरा र एक छोरी छन् । दुबै छोराछोरी भने अमेरिकामा बस्दै आएका छन् । पञ्चायतकालका कुशल राजनीतिज्ञ टंकप्रसादका छोरा बीरभद्र नवलपरासीपूर्व गैंडाकोट नगरपालिका १३ सिख्रौलीमा ६ वर्षदेखि उन्नत जातको बाख्रपालन गरेर बसेका छन् ।

जागीरकै शिलशिलामा नवलपरासी आउँदा २०५४ सालमा किनेको एक विगाहा क्षेत्रफलको जग्गामा उनले झण्डै पाँच करोड लगानीमा बाख्रा पालन ब्यवसाय सञ्चालन गरेका हुन् ।

आफ्ना नातेदार र इष्टमित्र गरी १२ जनाको साझेदारी रहेको बगैंचा फार्म हाउस बाख्रा स्रोत केन्द्रका अध्यक्ष छन् आचार्य । ब्यवस्थित तरिकाले बाख्रापालन गरिएको आचार्यको फर्ममा अष्ट्रेलियन बोयर बाख्रा २ सय वटा छन् । ती मध्ये ३५ वटा शत प्रतिशत बोयर रहेको कम्पनीका प्रबन्ध निर्देशक सन्तोष धितालले बताए । अहिले फर्ममा २ वटा मात्रै स्थानीय जातका बाख्रा छ ।
+++

अष्ट्रेलियाबाट ल्याइएका बाख्राहरु काठमाडौं ल्याइसकेपछि २१ दिन क्वारेन्टिनमा नै राख्नुपर्छ । क्वारेन्टिनमा राखेर त्यसको सबै स्वास्थ्य परीक्षण गरी सरकारी मापदण्ड पूरा गरेर मात्रै फर्ममा ल्याइएको फर्म सञ्चालक मध्येका एक राजु शर्माले बताए ।

नेपालमा पछिल्लो समय बोयर बाख्राको माग निकै बढिरहेको छ । सरकारी, गैरसरकारी संघ संस्थालाई किसानलाई अनुदान दिनेदेखि ब्यवसायिक रुपमा बाख्रापालन गरेका कृषकहरुको बोयर जातका बाख्रापालन गर्न थालेका छन् ।

अष्ट्रेलियाबाट ल्याउँदा एउटाको २ लाख ६० हजार रुपैयाँ पर्ने बाख्रालाई गोटाकै हिसाबले बिक्री गर्ने गरिएको आचार्यले बताए ।
आचार्यको आफ्नै एक विगाहा क्षेत्रफल जग्गामा फर्मको संरचना तथा कामदारलाई राख्ने टहरा र आफू बस्ने कटेजबाहेकका क्षेत्रमा उन्नत जातका भूइँघासहरु लगाइएका छन् ।

बाख्रालाई प्रशस्त घास चाहिने भएकाले सँगैको अर्को एक विगाहा क्षेत्रफलको जग्गा र छुट्टै १३ विगाहा क्षेत्रफलको प्लटमा भुँइघाँस तथा डालेघाँसहरु लगाइएको उनको फर्ममा पाँच वर्षदेखि काम गर्दै आएका कामदार मीनबहादुर थापाले बताए ।

थापाकाअनुसार १२ जना सञ्चालकमध्ये आचार्यले नै फर्ममा विशेष ध्यान दिने गर्छन् । कहिलेकाहीँ काम विशेषले बाहिर जानुपर्नेबाहेक अरु समय आचार्यले यसैलाई ध्यान दिने गरेको थापाले बताए ।

हरेक हप्ताको एक दुई दिन बाख्रापालन गर्ने चाहना राख्ने जोकोहीलाई उनले प्रशिक्षण पनि दिने गरेका छन् । अधिकांश साझेदार सदस्यहरु भने काठमाडौंमा बस्दै आएका छन् ।
+++

कृषि क्षेत्रमा झण्डै ६ वर्षदेखि लागेका आचार्य यसमा निकै मेहनत आवश्यक पर्ने बताउँछन् । मेहनतका साथै जोखिम पनि उत्तिकै रहेको उनको अनुभव छ । उनकाअनुसार २० वटा बाख्रासम्म पाल्दा कुनै समस्या छैन, तर २० भन्दा माथि गएपछि समस्या हुने गरेको छ । परिणाम बढाउँदै लैजादा विभिन्न खालका रोगहरुले बाख्रा मर्ने क्रम शुरु भएपछि किसानहरु सफल हुन नसकेको उनी बताउँछन् । 

विशेष गरी बाख्राहरुलाई नाम्ले रोगहरु लाग्ने गर्छ । बैशाखदेखि कात्तिकसम्म हरेकमहिना नाम्ले किरा हटाउन औषधि खुवाउनुपर्ने हुन्छ । बाख्रालाई अनिवार्य अनिवार्य चाहिने इन्ट्रोटोक्सिमिया नामक औषधि सहजै पाउन नसकिने अवस्था छ ।

कतिपय रोगका लागि आवश्यक भ्याक्सिन (इन्टेरोटोक्सेमिया, निमोनिया) तथा औषधिको आपूर्ति सहज नभएको उनी बताउँछन् ।
कृषि विकास बैंकमा पनि छोटो समय कर्जा शाखामै काम गरेका आचार्यलाई कृषि ऋण प्रवाह गर्ने तरिका पनि चित्त बुझेको छैन ।

‘बाख्रापालन ब्यवसाय कुखुरापालन जस्तो पनि होइन, गाइपालन जस्तो पनि होइन, तरकारी खेतिजस्तो पनि होइन, त्यो भन्दा फरक छ’, आचार्य भन्छन्, ‘त्यसैले बैंकले तीन महिनामा इन्स्टलमेन्ट राख्ने अथवा एक वर्षको ऋण दिने कुरा बन्द गर्नुपर्छ । दिने हो भने छोटो समयको नभई लामो समयको ऋण दिनुपर्छ ।’

खासगरी बैंकले किसानहरुलाई ओडीको ब्यवस्था गर्नुपर्ने उनको सुझाव छ । ब्यवसायीक किसिमले हेर्ने हो भने ३५ किलोभन्दा थोरैको बाख्रा बेचेर कुनै पनि किसानलाई फाइदा नभएको आचार्यले स्पष्ट गरे । चार वटा बाख्रा पाल्ने किसानलाई पनि गर्जो टार्ने काम मात्र भएको उनले बताए ।

बोयरको तीन वर्षमा १ सय ३२ देखि १ सय ६० किलोसम्म हुने गर्छ । बोयरको ५० प्रतिशत क्रसमा नै ४० किलो भन्दा बढी मासु हुने आचार्यले बताए । नेपालमा बोयर जातको बाख्रा बर्षमा दुई पटक ब्याउने गर्दछ । रैथाने बाख्रासँग क्रस गराएर उन्नत नश्लका पाठापाठी बढाउनु नै बोयर पालनको मुख्य उद्देश्य रहेको आचार्यले बताए ।
+++

देशको कृषि आधुनिकीकरणमा केही नयाँ गर्ने सोच भएका, विदेशबाट स्वदेशमै व्यवसाय गर्छु भनी फर्केका, दिनरात मिहिनेत गरेर व्यवसाय गर्दागर्दै पनि कतिपय प्राविधिक कारणले मारमा परिरहेकाहरूलाई बाख्रापालनमा उत्साहित गर्न सरकारले नसकेको उनको बुझाइ छ ।

अहिलेसम्म बाख्रापालनबाट किसानले मुनाफा पाउन नसकेको उनको ६ वर्षको अनुभवले बताएको छ । अहिलेसम्म कागजमा मात्रै मुनाफा रहेको आचार्यले बताए । कागजमा एकदमै मुनाफा देखिने तर ब्यवहारमा त्यसको उल्टो रहेको उनले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.