पैंचो मागेको ५० हजार मेट्रिक टन युरिया मल गहुँबालीका लागि
काठमाडौँ— धानलाई अभाव भएर बंगलादेशसँग नेपाल सरकारले पैंचो मागेको ५० हजार मेट्रिक टन युरिया मल हिउँदे गहुँबालीका लागि हुने गरी मात्र आउने भएको छ ।
ढाकास्थित राजदूत वंशीधर मिश्रका अनुसार मल ढुवानीको प्रक्रिया र सेवासर्तसहितको समझदारी (एमओयू) को अन्तिम मस्यौदा आइतबार मात्रै काठमाडौंबाट कृषि मन्त्रालयले पठाएको छ ।
‘बंगलादेश सरकारले पनि किनेर नेपाललाई युरिया मल पैंचो दिन लागेको हो,’ मिश्रले भन्नुभयो, ‘नेपालको जस्तो सार्वजनिक खरिद प्रक्रिया, बोलपत्र र कानुनी प्रावधानका कारण स्वाभाविक ढिलाइ भएको हो ।’ उहाँले काफ्को नामक कम्पनीमार्फत मल ढुवानी हुने निधो भइसकेको जानकारी दिनुभयो ।
राजदूत मिश्रका अनुसार भैरहवा, वीरगन्ज र विराटनगर नाका हुँदै कात्तिक मसान्तमा युरिया भित्रिन सुरु हुनेछ र मंसिरभित्रमा सबै मल ढुवानी भइसक्नेछ । पैंचोको सर्तअनुसार ८ महिनाभित्रमा नेपाल सरकारले बंगलादेशलाई मल फिर्ता गरिसक्नुपर्नेछ ।