नयाँ सोचसहित सामूहिक कृषि कर्ममा चितवनका युवा

चितवन । देशव्यापी लकडाउनका कारण ठूलो क्षति ब्यहोरेको कृषि क्षेत्रलाई नयाँ पुस्ताका युवाले थाम्न थालेका छन्।

लकडाउनको घाटाले चितवनका पुराना किसानहरू निरास बने पनि नयाँ पुस्ता भने नयाँ जोशका साथ कृषि कर्ममा देखिन्छन्।

पढाइका क्रममा जिल्लाबाहिर रहेका, रोजगारीका सिलसिलामा घरबाहिर गएकादेखि वैदेशिक रोजगारीमा पुगेका युवाहरू अहिले गाउँ फर्केर परिवारको पेशालाई अघि बढाउन थालेका छन्।

तिनैमध्ये एक हुन्, भरतपुर–२५ कुमारी चोकका लेखनाथ भुषाल। भौतिक विज्ञानमा स्नातकोत्तरगरेका छन्। काठमाडौंस्थित गोल्डेन गेट इन्टरनेशनल कलेजमा केही समय पढाएका भुषाल अहिले परिवारको पेशा थाम्न चितवन आइपुगेका छन्।

कानुनमा स्नातकसमेत गरेका भुषाललाई विभिन्न संस्थाहरूबाट अहिले पनि जागिरका लागि बोलावट आइरहन्छ।

‘तर मैले समय दिन भ्याउँदिन भन्दै आएको छु,ु उनले भने, ‘लकडाउनयता म पूर्ण रूपमा कृषि कर्ममै रमाएको छु।’

भुषालको अन्यत्र गएर जागिर खानुभन्दा गाउँमै बसेर कृषिका साथसाथै शैक्षिक क्षेत्रमा काम गर्ने सोच आइरहेको छ।

लकडाउनका कारण भुषालको बारीमा फलेको लाखौं मूल्यको तरकारी कुहिएर खेर गयो।

उनका अनुसार एक विघा जमिनमा तरकारी लगाएर उत्पादन दिने बेलासम्म करिब ४ लाख रुपैयाँ खर्च हुन्छ। यसमा परिवारको श्रम जोडिदैँन।

‘हामीले लगाएको लौका, फर्सी, करेला, चिचिन्डालगायत तरकारीहरू बारीमै कुहिए, यस्ता कुराहरूले किसानहरूलाई निरास बनाएकै छ,ु उनले भने, ‘तर निरास बनेरमात्रै भएन त्यो कुराबाट पाठ सिकेर थप उर्जाका साथ काममा लाग्नुपर्छ भनेर सक्रिय भएको छु।’

उनको बारीमा अहिले बोडी, करेला, फर्सी हुर्किरहेका छन्।

‘म सकेसम्म प्रविधिको प्रयोग गरेर, विषादीको कम प्रयोग गर्दै स्थानीय जातलाई प्राथमिकता दिनुपर्छ भनेर लागेको छु,ु भुषालले भने, ‘कम लागतमा बढी उत्पादन गर्ने गरी लाग्नु पर्नेछ।’

परिवारको कृषि कर्म छोराले काँधमा लिएपछि बुवा शोभाकान्त भुषाल खुसी छन्। परिवारका सबै सदस्यले उनलाई साथ दिएका छन्।

यो परिवारले ३ विघाभन्दा बढी जमिनमा तरकारी खेती गरिरहेको छ। बाँकी चार विघामा धान छ। धान थन्काएपछि त्यहाँ लौका, खुर्सानी, भेडे खुर्सानी लगाउने योजना उनको छ। तीन विघा जमिन भाडामा पनि लिएका छन्।

सोही वडाको कृषि चोकमा ८ विघा जमिनमा तरकारी खेती गर्ने मानबहादुर रानाभाटको परिवारले लकडाउनमा करिब २२ लाख रूपैयाँ घाटा ब्यहोर्‍यो। घाटाले निरास भएको यो परिवारमा अहिले केही खुसी फर्किएको छ।

किनभने ११ वर्ष साउदी अरेबियामा रोजगारी गरेर फर्किएका ध्रुवले कृषिकर्ममा काँध थापे।

उनले एक विघामा चिचिण्डा, १ विघामा टमाटर र १० कट्ठा जमिनमा टमाटर लगाएका छन्।

‘बाँकी जमिनमा अहिलेलाई धान रोपेको छु’, उनले भने, ‘अवस्थालाई हेरेर तरकारी खेती थप गर्दै जाने सोच छ।’

उनले परिस्थितिले घाटा ब्यहोर्न बाध्य बनाए पनि परिवारले लामो समयदेखि गर्दै आएको पेशा छाड्न नसकिने बताए।

‘बरू हामीले यसलाई अझ राम्रो बनाउने हो,ु ध्रुवले भने।

करिब २० वर्षदेखि कृषि पेशामा सक्रिय चन्द्रमणि सुवेदीको परिवारले आफ्नो ५ विघा जमिनमा तरकारी खेती गर्दै आएको छ। यो परिवारले केही विघा जमिन भाडामा लिएर पनि तरकारी खेती गर्दै आएको छ। अहिले परिवारको भरोसा बनेर कृषि पेशालाई अघि बढाउँदैछन्( २८ वर्षीय छोरा सुमन सुवेदी।

उनले नै चितवनमा कुरिलोको व्यवसायिक खेती अघि बढाए। बजार बनाए।

अहिले कुरिलोसहित कागती, खुर्सानी, च्याउलगायतको खेती गर्दै आएका छन्।

‘कोरोना भाइरसको महामारीले हाम्रो पेशालाई पनि अप्ठ्यारो अवस्थामा पुर्‍यायो। यही बेलामा बिचौलियाको जगजगी भयो,ु सुवेदीले भने, ‘वर्षौंदेखिको पेशालाई निरन्तरता दिन अहिले मैले अन्य कामलाई कम समय दिएर कृषिलाई प्राथमिकतामा राखेको छु।’

बिचौलियाबाट बच्न सामूहिक खेती

यसअघि आ–आफ्नो तरकारी खेती गर्दै आएका किसानहरू अब भने सामूहिक खेतीतर्फ अग्रसर बनेका छन्।

पश्चिम चितवनको शुक्रनगर, अमृतनगर, बसगठ्ठा, कटरटाँडी, चैतन्यबस्ती, नयाँबस्ती, ध्रुव, बगेरघारीलगायतका क्षेत्र तरकारी खेतीको पकेट क्षेत्रका रूपमा परिचित छन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर २४ र २५ मा पर्ने तरकारीको पकेट क्षेत्रमा लकडाउनका समयमा करोडौं मूल्यका तरकारी कुहिएर खेर गएको थियो। तर विस्तारै किसानहरू पुनः आफ्नो लयमा फर्कन थालेका छन्।

एक्लाएक्लै खेती गर्दा ठूलो क्षति ब्यहोरेका भरतपुर(२५ का २२ परिवारले अहिले सामूहिक खेती सुरू गरेका छन्।

ती परिवारका युवा सदस्यहरूले युवा आधुनिक सामूहिक खेती समूह गठन गरेका छन्।

८० विघा जमिनलाई चक्लाबन्दी गरेर सामूहिक खेती सुरू गरिएको समूहका संयोजक लेखनाथ भुषालले बताए।

बाबुहरूले गर्दै आएको कृषि कर्मलाई बचाउन छोराहरूको पुस्ताले सामूहिक खेतीको योजना बनाएको भुषालले बताए।

उनका अनुसार ती २२ परिवारले अहिलेसम्म छुट्टाछुट्टै खेती गर्दै आएको जमिनलाई समूहमा ल्याएपछि माटो अनुकूलको तरकारी उत्पादन गर्ने निधो भएको छ।

‘अहिलेसम्म सबैले सबै किसिमका तरकारी थोरै(थोरै उत्पादन गर्थे भने अब प्लटअनुसारको उत्पादन गर्न थालेका छौं,ु भुषालले भने, ‘यसले गर्दा किसानलाई धेरै थरी तरकारी उत्पादनको झन्झट भएन।’

समूहका सचिव सुमन सुवेदीले अब बिउदेखि बजारसम्मको जिम्मा समूहले नै लिने बताए।

‘किसानले किन्नुपर्ने बिउ, मलदेखि उत्पादनलाई बजार पुर्‍याउने समयसम्म बिचौलियाको जगजगी थियो,ु सुवेदीले भने, ‘अब हामी बिचौलियालाई प्रवेश नै दिदैनौँ।’

उनले एक्लै–एक्लै खेती गर्दा बिचौलियाको भर पर्नु परेकाले किसानले लाभ लिन नपाएको बताए।

‘समूह आफैंले कारोबार गर्न थालेपछि किसान र उपभोक्ता दुबैलाई फाइदा हुने भयो,ु उनले भने, ‘कृषिबजारमा पनि यसको राम्रो प्रभाव पर्छ।’

समूहका सदस्य ध्रुव रानाभाटले किसान एक्लो हुँदा सरकारको सहयोग पाउन पनि मुस्किल भएको बताए।

‘पहुँचमा हुनेले खेती नै नगरी पनि अनुदान लगिरहेका रहेछन् तर हामी दिनरात मेहनत गर्नेलाई प्राविधिक सहयोग पाउन पनि गाह्रो थियो,ु उनले भने, ‘समूहमा भएपछि हाम्रो आवाज पनि ठूलो हुन्छ, सरकारले पनि सुन्ला।’

युवाहरूको जाँगरमा वडा कार्यालयले पनि साथ दिएको छ। भरतपुर–२५ का वडाध्यक्ष विजय भुजेलले युवाहरूको जोशलाई निरन्तर कायम राख्न आवश्यक सहयोग गर्ने बताए।

‘उनीहरूका लागि कहाँ पुगेर सहयोग गर्नुपर्छ, बजारीकरणका लागि के गर्नुपर्छ वडा तयार छ,ु भुजेलले भने।

युवाहरूले सामूहिक खेतीमार्फत् आपसमा ज्ञान बाँडेर लाभ लिने सोच बनाएका छन्।

कृषि ज्ञान केन्द्र चितवनकाअनुसार भरतपुर–२५ मा मात्रै २ सय विघा बढी जमिनमा व्यावसायिक तरकारी खेती हुन्छ। २४ नम्बरमा पनि करिब २ सय विघामै तरकारी खेती हुँदै आएको छ। वडा नम्बर २४ का किसानहरूले केही वर्ष अघिदेखि करिब ६० विघा जमिनमा सामूहिक तरकारी खेती गर्दै आएका छन्।

चितवनमा उत्पादन भएको तरकारी पोखरा, बुटवल र काठमाडौंमा पनि बिक्री हुन्छ।

सेतोपाटी/राजेश घिमिरे

You might also like

Leave A Reply

Your email address will not be published.