ह्वील चियरको सारथी चुणामणि बने सफल किसान

नवलपुर– नवलपरासी (बर्दघाट सुस्तापूर्वं) कावासोती नगरपालिका १३ गैरीका ५५ वर्षीय चुणामणि बोहराको सहारा भनेकै ह्वील चियर हो ।

ह्वील चियरको सहाराबाट उनले गोठका सबै काम गर्छन् । नगरुन् पनि कसरी, उनी अडिने सहारा भनेकै त ह्वील चियर मात्र हो ।

शुक्रबार बिहानै उनको घरमा पुग्दा उनी गोठमा आफ्ना गाईभैंसीलाई ब्रस लगाएर मज्जासँग नुहाइदिँदै थिए । उनीसँग झण्डै दुई घण्टा रहँदा हामीबाट पनि कुनै सहारा खोजेनन् उनले । उनी आफैँले सबै काम गरे । उनको मात्र साथी बनेको छ, ह्वील चियर ।

त्यतिबेला चुणामणिकी श्रीमती घरमा थिइनन् । श्रीमती चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जंगलमा घाँस काट्न गएको चुणामणिले सुनाए ।

चुणामणिको जीवनको अन्तरंगका भोगाइ सुन्ने चाहना थियो । कामप्रतिको लगाव र मेहनत देख्दा धेरैबेरसम्म उनको मेहनत हेरिरहने धैर्य जाग्यो ।

चुणामणिलाई ह्वील चियरले मात्रै चिनेको रहेनछन् । गोठका सबै गाईभैंसीले पनि चिनेको महशुश गरें । पानीको पाइप लतार्दै, ब्रसले रगडी रगडी ह्वील चियरमा यता र उता गर्दै गोठका बस्तुहरुलाई सफा गर्दा गाईभैंसीले पनि आनन्द मानिरहेका थिए । चुणामणिका लागि ह्वील चियर सहारा बनेको छ भने गाईभैंसी साथीहरु भसकेका छन् । गाईभैंसीलाई नुहाइदिँदै गर्दा उनीहरुको गोबर पनि थरीमा अडिन दिँदैनथे । गोबर तानेर किनारा लगाइसक्थे ।

झण्डै डेढ घण्टा लगाएर चुणामणिले ९ माउ भैंसी र दुई वटा गाईलाई नुवाईधुवाई गरिदिए । गोठका गाई भैंसी टलक्क टल्किए । हरेक दिन बिहानमा एक पटक गाईभैंसीलाई यसरी नै नुहाइदिने गरेको उनले बताए ।

गोठका गाईभैंसीलाई नुहाइदिने काम सकेपछि उनी आफू पनि नुहाउने तरखरमा लाग्दै गर्दा उनकी श्रीमती शोभा घाँस बोकेर टुप्लुक्क आइपुगिन् ।
निकुञ्जको वन क्षेत्रबाट ल्याएको घाँस बिसाएपछि शोभाले भनिन्– यसपालि धेरै पानी पर्‍यो, घाँस उत्पादन राम्रो हुन सकेन । चुणामणिको जीवनको अर्को सहारा भनेको उनकी श्रीमती शोभा हुन् ।

बिहान कुखुराको डाकसँगै उठेर दुवैजनाको दैनिकी शुरु हुन्छ, गोठधन्दाबाटै । चुणामणि गाईभैंसीको गोबरसोत्तर गर्न लाग्छन्, भने शोभा दुहुनबाहन गर्न शुरु गर्छिन् ।

बेलाबखत गाईभैंसी दुहुने काम पनि गर्छन्, चुणामणि । तर बाल्टी राखेर दुहुन गाह्रो हुने भएकाले पत्नी शोभाले दुहुनबाहनको काम गर्ने गरेको उनले बताए । यसरी काम गर्दा झनै स्फूर्ति बढ्ने चुणामणि बताउँछन् ।

‘काम नगरेर त्यसै बस्दा शरीर पाटिन्छ, यसरी काम गर्दा आफ्नो शरीर पनि फुर्तिलो हुन्छ,’ चुणामणिले भने, ‘यसरी काम गर्दा मलाई आनन्द आउँछ,’ एक जनाले गोठ हेर्नपर्ने हुन्छ । त्यसैले चुणामणिले पूरा ड्यूटी सम्हालेका छन् ।

पशुपालन व्यवसाय गर्नुभन्दा अगाडिदेखि नै चुणामणि ह्वील चियरको सहारामा बाँच्न बाध्य भएका थिए । तर उनलाई आफू अपङ्ग भएर काम गर्न नसकेको महशुश कहिल्यै गर्दैनन् ।

000

चुणामणि दम्पतीले २०६० सालमा २२ सय रुपैयाँमा एउटा पाडी किनेर ल्याए । एउटा पाडी ल्याएर भैंसी पाल्न शुरु गरेका उनीहरुका गोठमा अहिले साना ठूला गरी झण्डै २० वटा गाईभैंसी छन् । लगानीका हिसाबले २२ सय रुपैयाँबाट शुरु गरेको उनको गोठमा अहिले २० लाख भन्दा बढी लगानी देखिन्छ ।

गाईको जस्तो भैंसीको दूध उत्पादन हुँदैन । दैनिक एक सय लिटर भन्दा बढी दूध उत्पादन गर्दै आएका उनीहरुको गोठबाट अहिले प्रतिदिन ५०/५५ लिटर दूध उत्पादन भइरहेको छ ।

देवचुली नगरपालिकाको प्रगतिनगरमा रहेको दूग्ध सहकारीमा दूध बिक्री गर्दै आएका उनीहरुको गत चैतमा कोरोना संक्रमणका कारण लकडाउन भएपछि सहकारीले दूध उठाउन छाड्यो ।

सहकारीले दूध नउठाइदिएपछि पछिल्लो समय उनीहरुले प्राइबेट डेरीमा दूध बिक्री गर्न थालेका छन् । प्राइभेट डेरीमा दूधको मूल्य त राम्रै छ, तर समयमा पैसा नपाइने अर्को समस्या ।

मध्यवर्ती क्षेत्रको ऐलानी जग्गा । त्यसमा पनि प्रशस्त जग्गा नहुँदा निकुन्ज क्षेत्रको जंगलमा घाँस काट्न जानुपर्ने बाध्यता । एक्लै दुक्लै जाँदा गैंडाले आक्रमण गर्छ कि भन्ने डर । त्यसैले चुणामणिकी श्रीमती शोभा घाँस काट्ना जाँदा पनि साथीहरुसँग जंगल पुग्छिन् ।

व्यावसायिक पशुपालन गरे पनि चुणामणि दम्पतीको जग्गा ऐलानी हो । ऐलानी जग्गा भएकाले लामो समयसम्म फर्म दर्ता नहुँदा राज्य तहबाट कुनै पनि सेवा सुविधा पाउन सकेनन् उनीहरुले । पछिल्लो समय स्थानीयको पहलमा मध्यवर्तिले सिफारिस गरिदिएपछि ‘बोहोरा पशुपालन फर्म’ दर्ता भयो ।

फर्म दर्ता भएपछि हालै गण्डकी प्रदेश सरकारको साढे २ लाख रुपैयाँ हातपारेपछि खरले छाएको गोठ सुधार गरेर ट्रस हालेका छन् । अहिलेसम्म राज्यबाट पाएको सुविधा भनेको यहि हो चुणामणि दम्पतीको ।

शुरु शुरुमा यस्ता अपाङ्गले पनि भैंसी पाल्छन् र भन्ने छिमेकीहरुले पनि आफूबाट प्रभावित भएर पशुपालन गर्ने गरेको देख्दा औधि खुशी लागेको उनले सुनाए ।

000

०६० सालअघि मध्यवर्ती क्षेत्रका सानोतिनो होटल गरेर चुणामणि दम्पत्तिले गुजारा चलाउँदै आएका थिए । यसले दैनिक गुजारा चलाउन पनि मुश्किल परेपछि गाईभैंसी पाल्ने चुणामणि दम्पतीमा सोंच पलायो । ‘अहिले राम्रैसँग गुजारा चलेको छ, आफ्नै काममा रमाउन पाएका छौं,’ चुणामणि दम्पतीले एउटै श्वरमा भने ।

पहिले कुरा काट्ने छिमेकीले अहिले चुणामणि दम्पती कामको प्रशंसा गर्न थालेका छन् । अहिले तिनै गाउँलेले उनको टोलको शोभा चोक राखिदिएका छन् । चुणामणि दम्पतीको स्थानीयले मात्र मुक्तकण्ठले मात्रै प्रशंशा गर्दैनन्, जिल्लाका पशु प्राविधिकहरुले पनि सफल किसानको उदाहरण दिनुपर्दा चुणामणि दम्पतीले नै दिने गर्छन् । जिल्लाका पशु डाक्टरदेखि प्राविधिकहरुले चुणामणि डकुमेन्ट तयार गरेर किसानहरुलाई देखाउने गरेका छन् ।

– खबरहबबाट

You might also like

Leave A Reply

Your email address will not be published.