नवलपुरमा पहिलोपटक कालिजपालन ब्यवसाय शुरू

झाँते गाउँको पहिचान बन्दैछ कालिज फर्म

हुप्सेकोट। केही बर्ष अघिसम्म वन कुचो काट्न लामलागेर थारू समुदायका मानिसहरू झाँते र कुटेको जंगलतिर उकालो लाग्थे । असोजको अन्तिम र कात्तिक पहिलो साता भारमा वन कुचो बोकेर कमिलाको ताँतीझैं लस्कर लागेर उनीहरू हँसौराबाट कावासोती तर्फ झर्थे । पुरूषले काँधमा भार बोकेर दुबैतर्फ हरिया कुचाको फुर्को झुण्डाएर एउटै लय र तालमा हिंड्थे ।

महिलाहरू टाउकोमा हरियो घाँसजस्तो मुठो बोकेर पुरूषकै तालमा पछि पछि दगुर्थे । “यो दृश्य हेर्न कम्ता मजा आउँदैनथ्यो“ मनबीर थापाले हौसिंदै भने । पहाडबाट कुचो काटेर मधेस झरेकाहरूको पङ्तीबद्द यात्राले जो कोहिको मन लोभ्याउँथ्यो । बिहानै चारबजे नुमैचा,भात र भार बोकेर झाँते र कुटेको जंगल लागेको टोली बेलुकाको संझेबत्तीमा घर फर्कन्थे । साता दश दिन जति मूलबाटोभरि यस्तै लावालस्कर देखिन्थ्यो ।

अहिले झाँतेको यस्तो पहाडको खोंच र जंगलमा ब्यबसायिक रूपमा कालिज फर्म संचालन गरेर गाउँको पहिचान बदल्न लागिपरेका छन् कावासोतीका दुई युवा । गत बर्षबाट तारतम्य मिलाएर जेठदेखि झाँते एकीकृत कृषि तथा पशुपंक्षी केन्द्र स्थापना गरी हाल यहाँ ब्यबसायिक कालिज पालन शुरू गरिएको छ। झाँते हुप्सेकोट गाउँपालिका ४ बिकटमा पर्छ । कावासोती ३ का युवा दिपेश कुमार अर्याल र अर्जुन श्रेष्ठले झाँतेमा पहिलो पटक कालिज पालन ब्यबसाय शुभारम्भ गरेका हुन् ।

कावासोती नगरपालिका ४ हँसौराबाट झण्डै ५ किलोमिटरको दुरीमा रहेको कालिज फर्म जंगलको बिचमा पर्छ । फर्मको तलपट्टी कलकल बगेको हँसौरा खोला,पूर्वतर्फ शंखदेव गाउँ, माथी झाँते र शिरानमा झगडिया गाउँ तथा पश्चिमपट्टि जुकेपानी रहेको छ । हिजो जंगली कुचो काट्ने ठाउँलाई आज कालिज पालनले छुट्टै पहिचान दिन तम्सेका छन् कावासोतीका युवा। झाँतेमा पच्चीस लाखको लगानीमा कालिज फर्म शुरूवात गरिएको दिपेश कुमार अर्यालले बताए । कालिजको लागि उपयुक्त हावापानी र प्राकृतिक बासस्थान रहेकाले करिब दुई बिगाहा जग्गामा फर्म संचालन गरिएको अर्यालको भनाई छ । फर्ममा रिङनेक प्रजातीको करिब एक सय पचास कालिज रहेका छन् । आगामी दुई महिनामा सबै भाले कालिज बिक्री योग्य हुन्छन् । पोथीलाई अण्डा उत्पादनका लागि पाल्ने र ह्याचिङ गरेर फर्ममै चल्ला उत्पादन गर्ने योजना रहेको अर्जुन श्रेष्ठले बताए ।

कालिजको बजारमूल्य प्रतिगोटा तीन हजार देखि पैंतीस सय सम्म पर्छ । नेपालमा पोक्रास,लुईंचे, मुनाल,चिलिमे,डाँफे,चिर,कालिज र मयुर गरि आठ प्रजातीका कालिज पाईन्छ । कालिजलाई सबैले वन कुखुराको रूपमा चिन्ने गरेका छन् । यसको मासु निकै पोषिलो र तागतिलो हुन्छ । बैदेशिक रोजगारीमा सात बर्ष बिताएका दिपेशले एक दिन कृषि एप हेर्दा कालिजको बारेमा थाहा पाएर आफु यो ब्यबसायमा लागेको बताए ।

उनीहरूले एभरेष्ट वाईल्ड लाईफबाट चल्ला ल्याएर झाँतेमा यो फर्म संचालन गरेका हुन् । बैदेशिक रोजगारीबाट फर्किएकाहरूको संस्था रिटर्नी माइग्रेंटका गण्डकी प्रदेश अध्यक्ष नेत्र नारायण थनैतले आफ्नोे संस्थाले यस्ता युवाहरूलाई उद्यम संचालन गर्न बिना धितो दशलाख र सुपथ ब्याजमा करोडौं लगानी गर्न बित्तीय संस्थासंग सहकार्य गर्दै आईरहेको जानकारी गराए ।

– सत्यकलमबाट

 

You might also like

Leave A Reply

Your email address will not be published.