खारा भिडन्तका घाइते लडाकुको गाईपालन – भिडियो सहित्

नवलपुर– जुम्ला तातोपानीका गोरखबहादुर राउत बिहानै गाईबस्तुको स्याहारसुसारमा लाग्छन् । उनको सानो गोठमा अहिले सात वटा गाई छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–७, साँढका बासिन्दा गोरखबहादुरले गाई पाल्न थालेको सात वर्ष भयो ।

नेपालका लागि राष्ट्र संघीय मिसन ९अनमिन० ले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकुमध्येका एक हुन् गोरबहादुर । ती १५ हजार ६३० जना लडाकु ‘स्वेच्छिक अवकाश’ रोजेर घर फर्केका थिए । एक हजार ४२१ जना नेपाली सेनामा समायोजन भएका थिए ।

गोरखबहादुरले पनि अवकाश नै रोजे । माओवादीमा छँदा गौरव उपनामले चिनिन्थे । सेना समायोजनका समयमा उनी जनसेनाको चौथो डिभिजन हेडक्वार्टर अन्तर्गतको हात्तीखोर शिविरमा थिए ।

माओवादी सेनाको छैठौँ डिभिजनको २७ नम्बर बटालियनका सदस्य गोरखबहादुर चौथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गतको हात्तीखोर शिविरमा आइपुग्दा ब्रिगेड कार्यालयमा थिए ।

 

गीत सुनेर माओवादीतिर

जुम्लाको साबिक लाम्रा नमुना गाविस घर भएका गोरखबहादुर विचारशून्य थिए । उनले २०५२र५३ सालमा नेकपा मशालका कार्यकर्ताहरूको गीत सुनेका थिए । गीतबाट खुब प्रभावित थिए । आफूजस्ता सामान्य वर्गका मान्छेलाई माया गर्ने उनीहरूलाई सेनाले दुःख दिन्थ्यो । राज्यबाट हेपिएको महसुस गरेका गोरखबहादुर भने माओवादीबाट प्रभावित भए ।

गोरखबहादुर २०५६ सालमा माओवादीमा लागेर जुम्लाको पार्टी सङ्गठनमा जोडिए । माओवादीको प्रारम्भिक युवा दस्ता मानिने जनमिलिशियामा स्थानीय टोलको जिम्मेवारी पाए अनि २०५८ सालको मंसिरमा जनमुक्ति सेनामा आबद्ध भए ।

खारा भिडन्तमा घाइते

पहिलोपटक मिलिशियामा जोडिएपछि गृहजिल्ला जुम्लामै पहिलो लडाइँको अनुभव गरेका गोरखबहादुरलाई सुरु सुरुमा आफ्नो ज्यान सुरक्षाका लागि भनेर ग्रिनेट दिइएको थियो ।

उनी रुकुमको खारा सत्पोलिया, पाल्पाको तानसेन, सुनवलको रमवापुर, कालीकोटको पिली, कपिलवस्तु र मुगुको ठूला भिडन्त हुँदै दर्जनौँ साना भिडन्तमा सहभागी भए ।

कैलालीको आमखैया, बाँकेको चिसापानी कृष्णमन्दिर, स्याङ्जाको भटुके, छिपछिपे बैदु, तनहुँको ढुङ्गढाँठी, नवलपरासीको चोरमारा थुप्रै भिडन्तमा सहभागी भएका गोरखबहादुर खारा भिडन्तमा घाइते भए ।

विगत सम्झिँदै उनले भने, ‘संसार जितिन्छ भनेर साथीहरूको लासमाथि टेक्दै लडियो, आखिर नेतृत्वको कमजोरीले पछि हट्नु पर्‍यो ।’

गोरखबहादुर गाईबस्तुको स्याहारसुसारमा व्यस्त छन् । भन्छन्, ‘विगत सम्झिएर के पनि के गर्ने १ बिर्सनै पर्ने रहेछ ।’ उनी बितेका दिनतिर धेरै फर्किन चाहेनन् । उनले जीवनमै नर्बिसिने चोट खारामा पाएका थिए । बायाँ हात र खुट्टाको फिलामा लागेको युद्धको डोब अहिले पनि मेटिएको छैन ।

शान्ति प्रक्रियामा आएपछि खार भिडन्तको रक्तमुछेल आफ्नो तस्विर क्यामेराको रिलबाट निकालेर शान्ति मन्त्रालयमा पनि नपुर्‍याएका होइनन् । मन्त्रालयमा फाइल कता हरायो उनले अहिलेसम्म पत्तो पाएका छैनन् ।

पार्टीको अन्तरविरोधले हिनताबोध

खारामा लागेको गोलीको छर्रा बोकेर चौथो डिभिजनको क्यान्टोन्मेन्ट अन्तर्गत हात्तीखोर आइपुग्दा गोरखबहादुर ब्रिगेड कार्यालयमा थिए । त्यही क्यान्टोन्मेन्टमा समायोजनको अन्तिम समयमा पार्टी फुटको संघारमा पुग्यो ।

‘पार्टीमा अन्तरविरोध चर्को भइसकेको रहेछ । कोही कसैसँग बोल्नै नहुने । जोसँग बोल्यो, यो त त्यो गुटको भन्ने भइसकेछ,’ उनले ती दिन स्मरण गरे, ‘त्यतिबेला त कहाँ आएर फसियो भन्ने भयो ।’

ब्यारेकमा हुँदा बाहिरको अवस्था बुझ्नै नपाइने, भेडाजस्तै । पार्टीभित्र अन्तरविरोध के थियो भन्ने थाहा भएन । कोसँग हिँड्दा कुन पक्षको देखिने हो पत्तै नहुने १

श्रम गरेर बाँच्ने आँट

सेना समायोजनमा स्वेच्छिक अवकाश रोजेपछि गोरखबहादुरलाई जुम्ला जान मन भएन । यतै रहेर संघर्ष गर्ने विचार आयो । चिया पसल थापेर पनि बाँच्न सकिन्छ भन्ने उनलाई लाग्यो ।

घाइते र अपाङ्ग भएपछि क्यान्टोनमेन्टबाट बाहिर निस्किनुपर्ने निश्चित थियो । त्यसभन्दा अघि नै जनमुक्ति सेनाबाट केहीलाई वाइसिएल लगायतका सङ्गठनमा ल्याउने कुरा चलेको थियो । नेताहरूले राज्यसत्ता कब्जा गर्न वाइसिएल बनाएको भनेर दिमाग भरिदिए । त्यतिबेला निस्कनेको सूचीमा गोरखबहादुर पनि तर कसरी हो ब्यारेकबाट बाहिर निस्कनु परेन ।

अवकाशले गोरेटो बदलियो

जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश रोजेपछि पाँच लाख रुपैयाँ हात पर्‍यो । त्यही पैसाले उनको जीवनमा नयाँ मोड ल्यायो ।

क्यान्टोन्मेन्टको टहरा निर्माणका लागि बाँस लिन जाँदा सस्तो जग्गाको भेउ पाएका थिए । अहिले गाईपालन गरेर बसेको ठाउँमा १० जनाको टिम बनाएर जग्गा बिन्ने योजना थियो तर सफल भएन ।

अवकाशको एक वर्षपछि गोरखबहादुरले कसो कसो १२ हजार रुपैयाँमा ८ कठ्ठा जमिन खरिद गरे । सँधियारले पोखरी खन्न नदिएपछि फेरि १२ हजारमै ८ कठ्ठा जमिन थपे । अहिले त्यही ठाउँमा जमिनको भाउ कठ्ठाको एक लाख रुपैयाँभन्दा बढी छ ।

 

अनि, भयो गाईपालन

जनताको मुक्तिमा लागेको मान्छेले विकल्पमा स्वेच्छिक अवकाश रोजेपछि पाएको थोरै पैसाबाट सस्तो मूल्यको जग्गामा लगाए । बाँकी पैसाले बस्ने टहरो बनाए । केही पैसा पशुपालनमा लगानी गरे ।

त्यतिबेला आफ्नो सानो बच्चा दुधका लागि एउटा गाई किने । दैनिक १७–१८ लिटर दुध दिने राम्रो गाई परेछ । गाईले सन्तान बढाउँदै लगेपछि उनको गाईपालन पेशा सुरु भयो ।

त्यसपछि उनी माछा पोखरी खनाउनेतिर लागे । गाईको दूधले आम्दानी दिन थालेपछि गाईपालन व्यवसाय बढाउँदै जाने सोच पलायो । व्यावसायिक पशुपालनमा आकर्षण बढ्दै गयो । उनले गोठमा ११ वटा माउ गाई पुर्‍याए । उचित गोठको अभावमा चार वटा बेचे ।

गोरखबहादुरको गोठमा अहिले दुध दिने गाई ७ वटा छन् । दैनिक ६० देखि ६५ लिटरसम्म दूध उत्पादन हुन्छ । फ्याटको मात्राअनुसार प्रतिलिटर ५२ देखि ५५ रुपैयाँमा बिक्री हुन्छ ।

उनसँग १२ माछा पोखरी छन् । तीन वटा आफ्नै हुन् । अरू ९ वटा पोखरी लिजमा लिएका छन् । एउटा पोखरी खनाउन ४५ हजारदेखि ६० हजार रुपैयाँ लाग्यो । माछापोखरीको डिलमा गाईको घाँस रोपेका छन् ।

गोरखबहादुरलाई माछाबाट पनि राम्रो आम्दानी भएको छ । साथमा श्रीमती, एक छोरी र एक छोरा छन् । युद्धकालमा नेताहरूले भनेअनुसार संसार नजिते पनि उनलाई आफ्नो जीवनसँग कुनै पछुतो छैन । आफ्नै श्रमले जीवन चलेकोकोमा उनलाई गौरव छ ।

– खबरहबबाट

You might also like

Leave A Reply

Your email address will not be published.