बजार लगिएको दूध यसरी सधैं बाटोमा पोखिन्छ

ललितपुर — बिहानको मौसम सफा थियो । सडक विस्तार गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका साइट इन्चार्जले सडकमा पहिरो नझरेको जानकारी गराए । यही खबरले ललितपुर दक्षिण दुर्गम पहाडी भेग प्युटारका राजकुमार घिमिरे ढुक्क भएर सधैंझैं दूध सहर पुर्‍याउन किसानबाट संकलन गरे । गाउँबाट दूध गाडीमा राखेर बिहान ९ बजे हिँडे ।

प्युटार–बगुवा सडकको बीचसम्म आइपुग्दा पहिरो झरेर बाटो अवरुद्ध भइसकेको रहेछ । किसानको दूध बजार लैजाने जिम्मेवारी पाएकाले उनलाई समयमै पुर्‍याउन नसके दूध बिग्रने डर थियो । ‘बाटो अवरुद्ध हुँदा दाना र यात्रु बोकेको बस पनि अड्किएको थियो । सबै जना मिलेर साबेल, कुटो कोदालीले खन्दै ढुंगा र माटो पन्छाउँदै दुई घण्टा लाएर बल्लतल्ल कान्ति लोकपथसम्म आइपुगें,’ उनले भने ।

विडम्बना कान्ति लोकपथमा पनि ठाउँठाउँमा पहिरो गएको थियो । ‘पन्छाउँदै भट्टेडाँडाको कार्कीबाससम्म आइपुग्दा साढे तीन बजिसकेको थियो,’ उनले सुनाए, ‘दूध हेर्दा जमिसकेको रहेछ । फाल्नुको विकल्प भएन ।’ बुधबार ६० जना किसानबाट संकलित साढे पाँच सय लिटर दूध फाल्न उनी बाध्य भए । ‘अझ त्यो दिन कम संकलन भएको थियो । प्रायः दैनिक प्युटारबाट एक हजार २ सय लिटर दूध संकलन हुन्छ,’ उनले भने, ‘विद्युत् लाइन हाफ भएकाले पनि राम्रोसँग मेसिनमा चिस्याउन नपाउँदा पनि चाँडै जमेको हो ।’

कान्ति लोकपथ र बगुवा–प्युटार सडकमा झरेको पहिरोका कारण बजार पुर्‍याउन नपाउँदा बाटोमै दूध बिग्रिएपछि भट्टेडाँडास्थित कार्कीबासमा दूध फाल्दै किसान । तस्बिर : प्रकाश लामा

वाग्मती गाउँपालिका–२ माल्टाका हरिशरण घिमिरेको पनि कान्ति लोकपथको छपेली खण्डमा गएको पहिरको कारण असारमा ४० जना किसानबाट संकलन गरेको ३ सय लिटर दूध जमेर खेर गएको थियो । आश्राङका रामशरण घिमिरेले पनि बगुवा–गिम्दी सडकमा गएको पहिरोकै कारणले समयमा बजार पुसाउन नसक्दा साढे तीन सय लिटर दूध फाल्नुपरेको थियो ।

यी केही उदाहरण मात्र हुन् । पहिरोले अवरुद्ध बाटो समयमा खोल्न नसकेकै कारणले असारयता गिम्दीका किसानले दूध बजार पुर्‍याउन सकेका छैनन् । यस वर्ष साढे लाख रुपैयाँ बराबरको दूध खेर फाल्नुपरेको वाग्मती गाउँपालिका–२ गिम्दीका जयबहादुर भुलोनले जानकारी दिए । गिम्दीमा दैनिक एक हजार ५ सयदेखि एक हजार ७ सय लिटरसम्म दूध संकलन हुन्छ ।

घुसेलको अवस्था पनि उस्तै छ । त्यहाँका किसानको दैनिक ३ हजार ५ सय लिटर दूध खेर गइरहेको छ । दक्षिणका किसानले बाटो अवरुद्ध भएपछि पहिला घरघरमा खुवा बनाउँथे । कोभिड–१९ का कारण सरकारले लकडाउन गरेपछि खुवा पनि बिक्री हुन छाडेपछि किसान थप मर्कामा छन् ।

प्युटारका तुलबहादुर घलानले ७ वटा भैंसी पालेका छन् । उनीकहाँ दैनिक ४० लिटर लिटर दूध उत्पादन हुन्छ । बजार पठाउन नसक्दा दैनिक ३ हजार ४ सय ७५ रुपैयाँ घाटा भइरहेको उनले गुनासो गरे । ‘२० दिन बन्द हुँदा ६९ हजार ५ सय घाटा भयो,’ उनले भने, ‘त्यसमाथि भैंसीलाई दैनिक २ सय ४५ रुपैयाँ दानाबापत खर्च हुन्छ ।’

पहिरोले ललितपुरको दक्षिण भेगमा प्रत्येक वर्ष असारदेखि असोजसम्म बेलाबेलामा सडक अवरुद्ध हुने गर्दछ । यहाँ लगानी गरेर व्यावसायिक पशुपालन गर्न खोज्ने किसानलाई बाह्रै महिना ढुक्कले काम गर्ने वातावरण छैन । बाटो अवरुद्ध हुँदा दैनिक ४ हजार लिटरसम्म दूध खेर जाने गरेको जिल्ला दुग्ध उत्पादक संघका उपाध्यक्ष कृष्ण बल बताउँछन् । भन्छन्, ‘राजनीतिक पार्टीका सभा, सम्मेलन, भेला, बैठक भए तत्काल अवरुद्ध बाटो खोलिन्छ । सर्वसाधारणको पहुँच माथिल्लो तहसम्म नपुगेर होला, स्थानीयको कुरा कसैले सुन्दैन ।’

उनका अनुसार डोजरले दुईतीन घण्टा पहिरो पन्छाए बाटो खुलाउन सकिन्छ । ‘तर ठेकेदार पनि कसैको कुरा सुन्दैनन्,’ बलले भने । बगुवा–गिम्दी २८ किमि सडकको पहिरो पन्छाउने ठेक्का ३ लाख रुपैयाँमा स्थानीय राजकुमार बजगाईंले पाएका थिए । तर बजगाईंले वाग्मती गाउँपालिकाले रकम भुक्तानी बन्द गरेको भन्दै काम ठप्प पारेका छन् । ‘पहिरो पन्छाउँदै जाने क्रममा ३ लाख बजेट अपुग भयो । अनि थप बजेट निकासा गरिदिने मौखिक सहमतिमा वडाध्यक्ष र प्राविधिकको रोहवरमा पहिरो पन्छाएँ । त्यसको भुक्तानी अहिलेसम्म पाएको छैन,’ उनले भने ।

बजेट निकासा भएमा तत्काल अवरुद्ध सडक खोल्न तयार रहेको उनले बताए । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले भने बजगाईंले भने जस्तो नभई डोजर बिग्रेकाले पहिरो पन्छाउने काम बन्द भएको दाबी गरे । दक्षिणका साविक १९ वटा गाविसमध्ये शंखु, गोटिखेल, गिम्दी, भट्टेडाँडा, प्युटार, चन्दनपुरमा एकरएक, मानिखेल र लेलेमा २र२ वटा गरेर १० वटा दूध चिस्यान केन्द्र छन् । ठूलादुर्लुङ, आश्राङ, माल्टा, गिम्दी, इकुडोल, घुसेल, चौघरे, देवीचौर, दलचोकी, भारदेउ, नल्लुमा भने छैनन् ।

चिस्यान केन्द्र नहुँदा दक्षिणका किसान सडक अवरुद्ध भए दूध फाल्न बाध्य छन् । ‘केन्द्रमा राख्न सके एसिडिटी बढ्दैन । यसले २४ घण्टासम्म दूध बिग्रिनबाट बचाउँछ,’ दूध वितरक ठक्कर सञ्जेल भन्छन् । ठूलादुर्लुङ, आश्राङ, माल्टा र मकवानपुरबाट गरेर दैनिक ८ सयदेखि एक हजार ६ सय लिटर दूध उत्पादन हुन्छ । यी क्षेत्रका लागि एक हजार ५ सयदेखि २ हजार लिटर क्षमताको केन्द्र आवश्यक रहेको उनले बताए ।

दुग्ध विकास संस्थानले केन्द्रमा हालेको दूधको मूल्य ४ देखि ५ रुपैयाँ बढी दिने गरेको उनले जानकारी दिए । दक्षिणका वाग्मती, महांकाल र कोन्ज्योसोम गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालन गर्न गोठ सुधार, घाँस मसिनो बनाउने मेसिन वितरण, घाँसको बीउबीजन, औषधि, पशु बिमा जस्ता प्रोत्साहन कार्यक्रम ल्याएको छ । तर दूधको गुणस्तर कायम गर्ने चिस्यान केन्द्र स्थापना जस्ता योजना ल्याउन नसकेको किसानको गुनासो छ ।

दलचोकीमा विवादका कारणले केन्द्र राख्न नसकिएको कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाले बताइन् । ‘पछिल्लो समय त्यहाँका जनताले पनि माग गरेका छैनन्,’ उनले भनिन् । एउटा चिस्यान केन्द्र स्थापना गर्न १० देखि १५ लाख मात्र खर्च हुन्छ । आटोमेटिक मेसिनको २५ देखि ३० लाख रुपैयाँ पर्छ । वडास्तरीय बजेटबाटै राख्न सकिने किसान बताउँछन् । प्युटार, गिम्दी, आश्राडमा केन्द्र स्थापना गर्ने तयारी रहेको वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णु तिमल्सेनाले बताए । ‘भट्टेडाँडामा फिटिङ भइसकेको छ । सुरु गर्न मात्र बाँकी छ,’ उनले भने ।

चिस्यान केन्द्र सञ्चालन गर्न थ्री फेज लाइन चाहिन्छ । चापागाउँ, शंखु हुँदै गाउँमा ल्याइराखेको विद्युत् लाइन बर्खामा कहिले फ्युज जाने, कहिले हाफलाइन आउने त कहिले लाइन नै नआउने समस्या छ । ट्रान्सफर्मर लामो दूरीमा राखिएकाले फ्युज जाने समस्या भएको नेपाल विद्युत् प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले बताइन् ।

कान्तिपुरबाट 

You might also like

Leave A Reply

Your email address will not be published.