नेपालगञ्जमा नौ करोड लागतमा डेरी उद्योग सञ्चालन
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं २२ मा नौ करोड रुपैयाँको लागतमा एसके डेरी उद्योग स्थापना गरिएको छ।
उद्योगी सरोज पाण्डेले ठूलो लगानीमा डेरी उद्योग सञ्चालन गर्नु भएको हो । संचालक पाण्डेले सम्भाब्यता अध्ययन गरेर नै आफूले उद्योग स्थापना गरेको बताउनुभयो । उहाँले गुणस्तरीय उत्पादन उपभोक्तालाई दिने प्रतिवद्धता पनि जनाउनु भएको छ ।
‘हामीले प्रदेश सरकारबाट केही पाउने अपेक्षा गरेका छैनौं। सरकारले ल्याएका नीति कार्यान्वयन होस् भन्ने मात्रै चाहेका हौं’ पाण्डेले भन्नुभयो, ‘सुरुमा हामीले दूधका बारेमा अध्ययन गर्न आएका थियौं। त्यही बेलामा कृषिमन्त्री आरती पौडेलले उद्योग नै स्थापना गर्न आग्रह गर्नुभएको थियो।’
साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको यो उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण सुरु भएको छ । उद्योगबाट रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा आउनेछ।
डेरी उद्योगको सोमबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले औपचारिक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको थियो । सो क्रममा उहाँले कृषिलाई वैज्ञानिकीकरण गरी पूर्णरुपमा व्यावसायिक बनाउन प्रदेश सरकारले कृषि अनुदान कार्यक्रमअघि सारेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा उपस्थित प्रदेश कृषिमन्त्री आरती पौडेलले प्रदेश मातहतमा जिल्लाको समानुपातिक विकासका लागि प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो ।