कुखुरा बेच्न कार्यविधि बनाइँदै
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुखुरा ब्यवसायका लागि कार्यविधि बनाउने भएको छ ।
कुखुरा व्यवसायमा चलखेल हुन थालेको निश्कर्ष निकाल्दै विभागले कार्यविधि बनाउने तयारी गरेको हो । कुखुरापालन ब्यवसायीहरुको संगठन ह्याचरी उद्योग संघले विचौलियाहरुको चलखेल बढेको भन्दै विरोधमा अण्डा नष्ट गर्दै आएका थिए ।
संघले विरोध स्वरुप ठूलो परिमाणको अण्डा तथा चल्ला नष्ट गरेको एक महिना पनि नपुग्दै कुखुराको मासुको मूल्य अस्वभाविक रूपमा बढाइएपछि विभागले अनुगमन थालेको थियो। पुस अन्तिम हप्ता प्रतिकेजी २८० रूपैयाँ रहेको कुखुराको मासु माघदेखि अत्यधिक मूल्यवृद्धि हुँदै गएको छ ।
अनुगमनका क्रममा मासुको मूल्य बढाइएकोबारेमा ब्यवसायीहरुसँग सोधपुछ पनि गरिसकिएको विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताउनुभयो । विभागले कुखुरासँग सम्बन्धित सबै पक्षसँग छलफल जारी राखेको छ ।
समस्या समाधान गर्न आफूहरुले पशु सेवा विभागसँग मिलेर कार्याविधि बनाउने योजना बनाएको सुवेदीले जानकारी दिनुभयो । अण्डा तथा कुखुरा उत्पादक किसानले भने विचौलियाहरुले आफूखुसी मूल्य राख्दा आफूहरुले उत्पादन मूल्यसमेत पाउन नसकेको गुनासो गर्दै आएका छन् । अण्डा तथा कुखुराको मूल्य विचौलियाहरुको संगठन वितरण संघले नभै किसानले नै राख्न पाउनुपर्ने बताउँदै आएका छन् ।