कृषि विश्वविद्यालयको तालाबन्दी खुला

चितवन । ज्यालादारीमा कार्यरत कर्मचारीका कारण १२ दिन ठप्प भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय खुलेको छ । आन्दोलनरत कर्मचारी र विश्वविद्यालय प्रशासनबीच सहमति भएपछि बिहीबारबाट तालाबन्दी खुलेको हो । १२ दिन कार्यालय बन्द हुँदा दैनिक प्रशासनिक कार्य मात्रै नभएर पढाइ र परीक्षासमेत हुन सकेको थिएन ।

विश्वविद्यालयका निमित्त उपकुलपति शारदा थपलियाका अनुसार कर्मचारीहरुको माग सम्बोधन गर्न समिति बनेको र सोही समितिले दिने उपायका आधारमा मागहरु सम्बोधन हुने प्रतिबद्धता अनुरुप आन्दोलनरत पक्षसँग सहमति भएको हो । विश्वविद्यालयका प्रध्यापक नवराज देवकोटाको संयोजकत्वमा बुधबार एक समिति बनेको थियो । समितिले तीनवटा विषयहरुमा अध्ययन थाल्ने छ ।

‘विश्वविद्यालयमा के कति दरबन्दीहरु छन् हेर्ने, ती दरबन्दीहरुमा कर्मचारीलाई के कसरी संयोजन गर्न सकिन्छ विधि र प्रकृया अनुसार अगाडि बढ्ने र आवश्यक पर्ने थप नयाँ दरबन्दीका लागि पहल गर्ने गरेर समिति गठन भएको हो,’ निमित्त उपकुलपति थपलियाले भन्नुभयो । विश्वविद्यालयमा कार्यरत १ सय ५ जना ज्यालादारीका कर्मचारीहरुले करारमा राख्‍न माग गरेर आन्दोलन सुरु गरेका थिए ।

दैनिक ज्यालादारीमा काम गर्दै आएका उनीहरुलाई माघ १० मा सम्पन्‍न विश्वविद्यालयको कार्यकारी परीषद बैठकले मासिक ज्यालादारीमा लैजाने निर्णय गरेको थियो । मासिक ज्यालादारीमा लैजाने निर्णयप्रति पनि असहति राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.