यस्ता छन् नेपालमा पाइने गाईका जातहरु

काठमाडौं। नेपालमा केही समयदेखि पशुपालन ब्यवसाय फस्टाउँदै गएको छ । खासगरी युवाहरु विदेशमा गएर दुःख गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्दै पशुपालन ब्यवसायमा आकर्षित भएका छन् । परम्परावादी तरिकाले वर्षौंदेखि एकाध गाईभैंसी पाल्ने गरिए पनि झण्डै एक दशकदेखि भने पशुपालन ब्यवसायिक रुपमा नै गर्न थालिएको छ । यद्यपी मागअनुसारको उत्पादन भने भइसकेको छैन । ब्यवसायिक रुपमा गाई पाल्नेहरुले भने नेपालका स्थानीय जातका गाई भन्दा विदेशी विकाशे गाईहरु पाल्ने गरेका छन् । नेपालका स्थानीय जातका गाईले उत्पादन कम दिने भएका पनि विदेशी गाई पाल्ने गरिएको हो । जसले गर्दा नेपालका स्थानीय जातका गाईहरु लोप हुने अवस्थमा पुगिसकेका छन् । सुदूर पश्चिम, हिमाली तथा पहाडी भेगमा स्थानीय जातका गाइहरु देख्न सकिन्छ ।

यस्ता छन् नेपालमा पाइने स्थानीय जातका गाईहरु

अछामी गाई अथवा नौ मुठे गाई

अछामी गाई संसारकै सबैभन्दा सानो गाई हो। नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रको अछाम जिल्लामा उत्पत्ति मानिने यस गाईको उचाइ ८८ सेमी तथा औसत तौल ११० कि।ग्रा। हुने गर्दछ । यो गाईलाई नौँ मुठे गाई पनि भनिन्छ ।

तराई गाई 

मुख्यरुपमा नेपालको तराई क्षेत्रमा पालिने यो गाई बहर उत्पादन गरी गाडा तान्ने र जोत्ने कार्यको लागि निम्ति पालिने गरिन्छ । हाल भारतको हरियाणा, जर्सी, साहिवालको वर्णसंकरले गर्दा तराई गाई करिब–करिब लोप अवस्थामा छ ।

पहाडी गाई

नेपालको मध्य पहाडी भेगमा पाइने पहाडी गाईहरु भुटान, सिक्किम र दार्ज्लििङबाट भित्रिएको पाइन्छ । मुख्यतया यी गाईहरु गोरु, मल र धार्मिक र सामाजिक कार्यको लागि पालिन्छन् । यी गाईहरुको शारीरिक तौल २००–३०० केजी सम्म हुन्छ । शरीरको रड्ड कालो, रातो, फुस्रो र टाटेपाटे पनि हुन सक्छ । पहाडी गाईले सरदर एक वेतमा १५०–२०० लिटर सम्म दूध दिन्छन् र सरदर ३–४ वर्षमा पहिलो चोटी ब्याउछन् ।

 याक, नाक र चौरी

यी गाईहरु नेपालको हिमाली क्षेत्रहरुमा पाइन्छन् । यी गाईहरुको ठूलो शरीर, लामा लामा तिखा सिंग र शरीर भरी भुत्ला भएका हुन्छन् । याकको पोथीलाई नाक भनिन्छ । याक र नाकलाई पहाडी गाई र गोरु संग प्रजनन गराई खच्चड उत्पन्न गरिन्छ, जसलाई चौरी भनिन्छ । पहाडी गोरु (किर्को) र नाकको प्रजननबाट निस्कने गाईलाई दिम्जो चौरी भनिन्छ भने गोरुलाई दिम्जो झोप्क्यो भनिन्छ । त्यस्तै याक र पहाडी गाईको प्रजननबाट जन्मने गाईलाई उरंग चौरी र गोरुलाई उरंग झोप्क्यो भनिन्छ । यस्तो अन्तर्जातीय प्रजननबाट जन्मने चौरीहरुले सन्तान उत्पादन गर्न सक्छन् भने भालेहरु (झोप्क्यो) ले सधै सन्तान उत्पादन गर्न नसक्ने हुन्छन् । दूध उत्पादनको लागि दिम्जो चौरी उत्तम मानिन्छ भने भारी बोक्न र चढ्नको लागि उरंग झोप्क्यो उत्तम मानिन्छ ।

लुलु

लुलु गाई मुस्ताङ जिल्लामा पाइन्छ । यो गाईको जुरो हुँदैन । यी गाईहरुको शारीरिक तौल १५०–२०० केजी सम्म हुन्छ ।

पछिल्लो समय नेपालमा बढी भन्दा बढी जर्सी गाई पालन गरिएको छ । जर्सी गाईले प्रतिबेत ७ हजार लिटर भन्दा बढी दूध दिने तथा यसको ५.५ प्रतिशत भन्दा बढी फ्याट हुने गर्दछ । नेपालमा जर्सी र स्थानीय जातको क्रस गराउदा औसत २६०० लिटरसम्म दूध दिने गाई उत्पादन हुने प्राविधिकहरुको भनाइ छ ।

You might also like

Leave A Reply

Your email address will not be published.