उखु किसानले पाएनन् अनुदानको २७ करोड

कञ्चनपुर । कञ्चनपुरका साढे पाँच हजार उखुकिसानले अनुदानको रकम अझै पाएका छैनन् । पाँच हजार ५ सय ९४ उखु किसानले गत वर्षको अनुदान रकम नपाएका हुन् ।

सरकारले गत वर्षदेखि आफैँले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । पूर्वतिरका चिनीमिलले सरकारले किसानलाई दिने अनुदानसहित किसानको उखुको मूल्यसमेत नदिएपछि सरकारले आफैंले सीधै किसानलाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको थियो । तर, कञ्चनपुरका दुई चिनी उत्पादक उद्योगले किसानलाई उखुको मूल्य भुक्तानी गरेको एक वर्ष बितिसक्दा पनि सरकारबाट पाउने अनुदान रकम बाँकी छ ।

१३ हजार हेक्टरमा उखु खेती

मंसिर पहिलो सातासम्म पनि किसानले अनुदानको रकम पाएका छैनन् । बेलौरी नगरपालिका–१० शिवनगरको महाकाली सुगर इन्डस्ट्रिजमा तीन हजार एक सय ७४ र पुनर्वास नगरपालिका–२ आइबिआरडीको भागेश्वर सुगर एन्ड केमिकलमा दुई हजार चार सय १८ किसानले उखु बिक्री गरेका थिए । करिब ६ हजार उखु किसानले दुवै चिनीमिलमा झन्डै ४२ लाख क्विन्टल उखु बिक्री गरेका थिए । प्रतिक्विन्टल ६५ रुपैयाँका आधारमा ४२ लाख क्विन्टलको २७ करोड ३० लाख रुपैयाँ रकम हुन आउँछ । जुन रकम सरकारले दिन बाँकी छ ।

गत वर्ष भागेश्वरले १९ लाख २० हजार र महाकालीले २२ लाख ८० हजार क्विन्टल उखु खपत गरेको थियो । महाकालीले दैनिक २२ हजार क्विन्टल उखु खपतको क्षमता रहे पनि कच्चा पदार्थ अभावका कारण १९ हजार मात्रै खपत गरिरहेको छ । २५ हजार क्विन्टल क्षमता विस्तार गरेको भागेश्वर चिनीमिलले दैनिक १६ हजार क्विन्टल मात्रै उखु खपत गरिरहेको छ । नगदेबालीका रूपमा रहेको उखु कञ्चनपुरका १३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिन्छ, तर पनि दुवै उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव हुँदै गएको छ ।

०६७ सालमा सञ्चालनमा आएको महाकालीले वार्षिक एक लाख ८० हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको छ भने तीन वर्षअघिबाट सञ्चालनमा आएको भागेश्वर चिनीमिलले वार्षिक एक लाख ५२ हजार क्विन्टल चिनी उत्पादन गरिरहेको छ । सीमा क्षेत्रका यी दुवै चिनीमिलले स्थानीयभन्दा पनि बाह्य बजारमा प्रतिकेजी ६० रुपैयाँको थोक दरमा चिनी सप्लाई गर्दै आएका छन् ।

सरकारले चिनी उद्योगलाई १३ प्रतिशत भ्याटमध्ये ९० प्रतिशत छुट गराएर किसानलाई प्रतिक्विटल ६५ रुपैयाँ अनुदान सम्बन्धित उद्योगबाट वितरण गथ्र्यो भने अहिले सरकारले उद्योगबाट १३ प्रतिशतको शतप्रतिशत भ्याट लिएर त्यसबाट आफँैले अनुदान रकम वितरण गर्न प्रयास थालेपछि ढिलाइ भएको हो ।

महाकाली र भागेश्वर दुवै उद्योगले किसानको रकम भुक्तानी गरिसकेको र सरकारबाट किसानले पाउने अनुदानमा ढिलाइ भएको जनाएका छन् । दुवै उद्योगले किसानलाई बैंकमार्फत रकम भुक्तानी गरिसकेको जनाएका छन् । भागेश्वर सुगर एन्ड केमिकलका प्रबन्ध निर्देशक शंकर बोगटीले सरकारको उदासीनताका कारण किसानका साथै उद्योगमा समेत प्रभाव परेको बताउनुभयो । विगतका वर्षहरूमा हामी नै अनुदान वितरण गर्ने गरेकोमा गत वर्षदेखि सरकारले आफैं वितरण गर्छु भनेर किसानलाई मारमा पारेको बोगटीको भनाई ।

भारतमा समेत उखु किसानका लागि मल बिउबिजनदेखि विभिन्न उपकरणमा सहुलियत भए पनि नेपालमा यस्ता प्रोत्साहनका कार्यक्रम नहुँदा खुलेका उद्योगले समेत क्षमताअनुसार कच्चा पदार्थ नपाएको उनले दुखेसो पोख्नुभयो ।

महाकाली सुगर इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख कालुसिंहबहादुर ठगुन्नाले उद्योगले सबै किसानको भुक्तानी गरिसकेको बताउनुभयो ।

गत वर्षकै अनुदान वितरण नगरेको सरकारले यस वर्ष किसानले उखु बिक्री गर्ने समय नजिकिँदै जाँदा पनि उखुको मूल्य निर्धारण गरेको छैन । मंसिर दोस्रो सातादेखि दुवै चिनी उत्पादन गर्ने उद्योग सञ्चालनमा आउने भएका छन् । तर, पनि सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छैन । गत वर्ष किसानले लक्कट प्रतिक्विन्टल ४५१, सामान्य ४७५ र उन्नतको ५०१ रुपैयाँमा उखु बिक्री गरेका थिए ।

यस वर्ष अझैसम्म पनि उखुको मूल्य निर्धारण नहुँदा किसान अन्योलमा परेका छन् । उखु किसानसमेत रहेका खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले सरकारले किसानलाई दिने भनिएको अनुदान रकम घोषणामै सीमित रहेको बताउनुभयो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशीलकुमार वैद्यले अनुदान रकम जिल्लामा आइपुगेकाले अर्को साताभित्रै वितरण गरिने बताउनुभयो।

You might also like

Leave A Reply

Your email address will not be published.