यो दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने

काठमाडौं । यसपालिको दशैँ तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ । दशैँ, तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले चाडपर्व शुरु हुनुअघि नै खाद्यान्न पठाइसकेको छ ।

कर्णालीको खाद्यान्न समस्या हुने हुम्ला, मुगु र डोल्पामा पनि यस वर्ष चाडपर्वअघि नै खाद्यान्न पठाइसकेको कम्पनी लिमिटेडका प्रमुख भीमबहादुर थापाले बताउनुभयो । “यस वर्ष साउनदेखि नै खाद्यान्न ढुवानीको काम शुरु गरेका थियौँ । त्यसैले कर्णालीका कुनै पनि जिल्लामा खाद्यान्न अभाव हुँदैन”, उहाँले भन्नुभयो, “खाद्यान्न अभाव बढी हुने भनेको हुम्लामा हो । यस वर्ष त्यहाँको डिपोमा पनि तीन हजार क्विन्टल चामल मौज्दात छ ।”

सडक सञ्जालको सुविधा नभएका जिल्लामा खाद्यान्न ढुवानी भइसकेको र मुगुलगायतका जिल्लामा पठाउने तयारी भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । विगतका वर्षमा चाडपर्वको मुखमै खाद्यान्न पठाउने तयारी गर्दा ढुवानीको समस्याले गर्दा चाडपर्वको मुखमा पनि कर्णालीवासी खाद्यान्न सङ्कटको सामना गर्नुपरेको उहाँको भनाइ थियो ।

चाडपर्वका कारण हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्न समस्या पर्ने हुँदा खाद्यान्न अभाव हुने गरेको थापाले बताउनुभयो । यस वर्ष भने साउनदेखि नै खाद्यान्न ढुवानी गरेको थियो । “हामीसँग पर्याप्त मौज्दात छ, दशैँ, तिहार र छठमा खाद्यान्न अभाव हुन दिने छैनौँ ।” खाद्यको सुर्खेतस्थित कार्यालयको गोदाममा पनि अहिले नौ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको थापाले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेतका प्रमुख थापाका अनुसार यो वर्ष हुम्ला र डोल्पा जिल्लामा पर्याप्त मौज्दात रहेकोे छ ।

You might also like

Leave A Reply

Your email address will not be published.