अनुदानको सट्टा एक प्रतिशत ब्याजदरमा ऋण लगानी

मेलम्ची । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ ।

रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदनसमेत गरिसकेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो । “पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरू देखिए”, अध्यक्ष नेपालले भन्नुभयो, “त्यसैले अनुदान दिने व्यवस्था बन्द गरी सहुलियत ब्याजदरमा ऋण लगानी गर्ने योजना बनाएका हौँ । ”

अनुदान बाँड्दा पहुँचवाला किसानले मात्रै पाएको र वास्तविक किसान छुटेको भन्दै गाउँपालिकाले यस्तो नीति ल्याएको हो । छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागिएको हो । त्यसको लागि पहिलो चरणमा यस आर्थिक वर्ष पशुपालनतर्फ रु १५ लाख बजेट छुट्टयाइएको छ ।

कोष सञ्चालनको लागि दुई वटा समिति निर्माण हुनेछ । ऋण वितरणको लागि अनुदान कार्यान्वायन तथा सिफारिस समिति गठन गरिनेछ । जसको नेतृत्व कुनै एक वडाध्यक्षले गर्नेछन् । पशुपालन गरिरहेका वा गर्न चाहेका किसानले प्रस्तावना पत्रसहित सो समितिमा आवेदन दिनुपर्नेछ ।

प्रस्तावना पत्र र उसको व्यक्तिगत लगावको अध्ययन गरेपछि सिफारिस समितिले ऋण दिने वा नदिने विषयमा निर्णय गर्नेछ । ऋण वितरण र सुरक्षणको अनुगमन गर्नको लागि गाउँपालिका प्रमुखको अध्यक्षतामा एक अनुगमन समिति गठन गरिनेछ । सो समितिले ऋण लगानी गरिएका किसानको अनुगमन गर्नेछ । यसरी वितरण भएको ऋण फिर्ता गर्ने समयसीमा भने सिफारिस समिति ऋणीबीचको आपसी समझदारीमा निर्धारण गरिनेछ । “प्रस्तावका आधारमा उसले कसरी पशुपालन गर्न खोजेको हो, उत्पादनको समयावधिलाई हेरेर किस्ता निर्धारण गरिनेछ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण दुलालले भन्नुभयो, “त्यसको समयावधि बढीमा पाँच वर्षको हुनेछ । ”

किसानले गर्न चाहेको पशुपालनको लागि आवश्यक सीप तथा तालीमको लागिसमेत गाउँपालिकाले सहयोग गर्नेछ । सो कोषमा गाउँपालिकाले हरेक वर्ष रकम थप्दै जाने छ । त्यस्तै ऋणबाट प्राप्त ब्याज तथा अन्य विलम्ब शुल्कलगायतका रकमसमेत कोषमा थप्दै जाने गाउँपालिकाले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.