चितवन दूधमा आत्मनिर्भर बनेको घोषणा

चितवन। चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा दूधमा आत्मनिर्भर बनेको घोषणा गरिएको हो । चितवनका वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकताभन्दा उत्पादन बढी देखिएकाले जिल्लालाई दूधमा आत्मनिर्भर भएको घोषणा गरिएको हो । दूधमा आत्मनिर्भर हुने चितवन दोस्रो जिल्ला बनेको छ । यसअघि काभ्रेले दूधमा आत्मनिर्भर भएको घोषणा गरेको थियो ।

जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले तीन महिना लगाएर गरेको अध्ययनले चितवनलाई पूर्ण रूपमा आत्मनिर्भर भएको देखाएको हो । रत्ननगरमा आयोजित कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर भएको घोषणा गर्नु भएको हो ।

जिल्लामा वार्षिक दूध उत्पादन परिणामलाई आधार मान्दा वार्षिक प्रतिव्यक्ति दूधको आवश्यकताभन्दा बढी हुन आएकोले चितवनलाई विधिवत रूपमा दूध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको उहाँले बताउनुभयो । मन्त्री दोर्जेले दूधमा आत्मनिर्भर घोषणा गरिएको प्रमाणपत्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठलाई प्रदान गर्नु भएको थियो ।

विश्व खाद्य संगठनले एक व्यक्तिले स्वस्थ रहन एक दिनमा २५० मिलिलिटर दूध प्रयोग गर्नुपर्ने जनाएको छ । जसअनुसार एक व्यक्तिले एक वर्षमा ९१ लिटर दूध प्रयोग गर्नुपर्छ । यसलाई आधार मान्दा चितवनमा रहेको ६ लाख २५ हजार जनसंख्यालाई दैनिक १ लाख ५६ हजार लिटर दूध आवश्यक पर्छ । चितवनमा दैनिक २ लाख ९० हजार लिटर दूध उत्पादन हुँदै आएकाले जिल्ला दूधमा आत्मनिर्भर रहेको जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा। विजय श्रेष्ठले बताए ।

जिल्लामा खपत भएर बाँकी रहेको १ लाख ३४ हजार लिटर दूध बाहिरी जिल्लामा बिक्री भइरहेको छ । चितवनमा उत्पादित दूध काठमाडौं र कास्कीसँगै अन्य जिल्लामा जाने गरेको छ । केन्द्रले संकलन गरेको तथ्यांकअनुसार जिल्लामा दूध दिने गाई ४९ हजार छन् । जसमध्ये उन्नत ३९ हजार र स्थानीय १० हजार छन् । यसैगरी, १० हजार स्थानीय र ९ हजार उन्नत जातका भैंसी छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.