विदेशी कृषिजन्य वस्तुको भन्सार बृद्धि
काठमाडौं । कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाइएको छ । जेठ १५ गते अर्थमन्त्रीले सार्वजनिक गर्नु भएको बजेटले विदेशी कृषिजन्य वस्तुको भन्सार वृद्धि गरेको हो ।
मुलुक आत्मनिर्भर भएका चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, विस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाललगायतका कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाइएको छ ।
नवीनतम सोच‚ सीप‚ उद्यमशीलता र प्रविधिको उपयोग गरी ‘स्टार्ट अप’व्यवसाय गरेका तर करको दायरामा नआएका व्यक्तिले २०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा आर्थिक वर्ष २०७५/७६ भन्दा अघिका कर, जरिवाना, थप दस्तुर‚ शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।
विभिन्न ऐनमा भएका कर छुट र सुविधासम्बन्धी व्यवस्थासँग तादाम्यता हुनेगरी राजश्व सम्बन्धी कानूनमा संशोधन गरिनेछ भने शेयर कारोबारको पूँजीगत लाभकरको गणना भारित औसतलागत विधिबाट गर्ने व्यवस्था मिलाई शेयर लगानीकर्तालाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।