दूधको मूल्य बढाउने तयारी
नवलपरासी । नवलपुरका दूग्ध ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका छन् ।
कावासोती नगरपालिका भित्रका ब्यवसायीक पशुपालक किसानहरुको मागअनुसार ब्यवसायीहरुले दूधको मूल्य बढाउने तयारी गरेका हुन् ।
गाईवस्तुको आहार दिनप्रतिदिन बढिरहेको भन्दै पशुपालक ब्यवसायीहरुले दूधको मूल्य समायोजन गर्न माग गरेकाले मूल्य बढाउनेबारेमा छलफल भइरहेको कावासोतीमा नयाँबजारस्थित खाँटी दुग्ध डेरीका अध्यक्ष हरीप्रसाद पंगेनीले जानकारी दिनुभयो ।
लामो समयदेखि दूधको मूल्य यथावत रहेको भन्दै किसानहरुले मूल्य बढाउन माग गर्दैै आएका छन् । दूधको मूल्य समायोजन गर्नेबारेमा मंगलबार कावासोतीमा दूग्ध ब्यवसायीहरुबीच छलफल भएको थियो ।
खासगरी सहकारीबाट सञ्चालित डेरीहरुबाट किसानले दूधको न्यूनतम मूल्य नपाएको तर निजी डेरीबाट किसानलाई ठूलो राहत मिलेको छलफलमा सहभागी सिद्धबाबा डेरीबा सञ्चालन मोहनप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
एकीकृत तथा सहकारी डेरीका प्रतिनिधिहरुले भने कार्तिकदेखि फागुनसम्म स्थानीय रुपमा नै खपत हुन नसक्ने भएकाले मूल्य बढाउन समस्या हुने बताएका थिए ।
एकीकृत दुग्ध विकास सहकारीका प्रवन्धक पदमप्रसाद भुसालले किसानले दूधको उचित मूल्य नपाएकाले सरकारले विशेष गरी उत्पादनमा अनुदान दिनुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारलाई दबाब दिन सकिने सुझाव दिनुभयो ।
डेढ दर्जन बढी ब्यसावसायीहरुबीच भएको छलफलले छिट्टै नै मूल्य समायोजन गर्ने निश्कर्ष निकालेको छ ।