स्यांग्जामा सहकारीमार्फत सामूहिक तरकारी खेती

वालिङ । स्यांग्जाका स्थानीयले सहकारीमार्फत सामूहिक तरकारी खेतीको थालनी गरेका छन् ।

वालिङ नगरपालिका–१४ को डुम्रेभञ्ज्याङमा १०० जना स्थानीयहरू सङ्गठित भएर आधुनिक कृषि सहकारी संस्था दर्ता गरी सामूहिक तरकारी खेती थालेका हुन् ।

आठ रोपनी जग्गा पाँच वर्षलाई प्रति रोपनी १० हजारका दरले भाडामा लिएर व्यवसायको थालनी गरेको सहकारीका अध्यक्ष केशबहादुर सिंजालीले बताउनुभयो । “सहकारीमै आबद्ध २०÷२२ जना युवाहरू मिलेर टनेल निर्माण सकेका छौँ”, अध्यक्ष सिंजालीले भन्नुभयो, “अहिले हामीले यही गोलभेँडाको नर्सरी स्थापना गरेका छौँ बिरुवा उत्पादन भएपछि लगाउन शुरु गर्छौ ।”

बसाइँसराइका कारण खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि त्यसको सही सदुपयोग गरी आर्थिक उपार्जन गर्ने र युवालाई गाउँमै रोजगारी दिने मुख्य उद्देश्यले सामूहिक गोलभेँडा खेतीको थालनी गरिएको उहाँले बताउनुभयो ।

“सहकारीमा आबद्ध सदस्यहरू सक्रिय तबरले निरन्तर काम गर्दै आउनुभएको छ” सहकारीका सचिव दलबहादुर थापाले भन्नुभयो, “समूहमा काम गर्दा ज्ञान, सीपको आदान प्रदान हुने भएकाले पनि यो अभियान प्रभावकारी हुने विश्वास लिएको छु ।”

स्थानीय बाँसको प्रयोगबाट १६ वटा टनेल निर्माण गरिएको छ । सरल थोपा सिँचाइको व्यवस्था, पानीको व्यवस्थापन, हाते ट्रयाक्टर खरीद, ढुवानी तथा ज्याला गरी हालसम्म १० लाख खर्च भएको अध्यक्ष सिंजालीले बताउनुभयो ।

“जी सेभेन एग्रिकल्चर प्रालि प्राङ्गारिक पाठशाला खुमलटार ललितपुरबाट हामीले आवश्यक तालीम लिएका छौँ”, उहाँले भन्नुभयो, “त्यहाँ सिकेका सीपलाई व्यवहारमा उतार्ने र मौसमी तथा बेमौसमी तरकारी खेतीबाट समूहलाई आर्थिक समृद्धिको पाटोमा अगाडि बढाउने छौँ ।”

टनेलभित्र पहिलो चरणमा गोलभेँडा खेती र टनेलबाहिर अन्य तरकारी बालीहरू लगाउने गरी काम भइरहेको सहकारीले जनाएको छ । “सामूहिक रूपमा थालिएको अभियानसँगसँगै व्यक्तिगत रूपमा पनि आफ्नो जग्गामा तरकारी खेती गर्न चाहनेलाई आवश्यक सहयोग गर्ने नीति सहकारीको छ” सचिव थापाले भन्नुभयो, “जसले गर्दा समूहमा सिकेको सीपलाई व्यक्तिगत रूपमा पनि छुट्टै प्रयोग गर्न सक्ने भएकाले सहकारीमा आबद्ध सदस्यहरू लाभान्वित हुने छन् ।”

You might also like

Leave A Reply

Your email address will not be published.