‘कृषि क्षेत्रलाई प्राथमिकता दिएमात्रै विकास सम्भव’
हेटौँडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरे मात्र विकासले फड्को मार्ने बताएका छन् ।
प्रदेश नं ३ को प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कृषि वित्तीय स्रोत व्यवस्थापन विषयक अन्तक्र्रिया कार्यक्रममा उनले कृषक र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न नसकिएको बताए ।
अबका दिनमा कृषक र कृषि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेमा उनले जोड दिए । मन्त्री ढुङ्गेलले कृषि विकास बैंकले अब अनुदान दिँदा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले बैंकले पहुँचलाई हेरेर कर्जा वा अनुदान दिने कार्य हटाउनुपर्ने बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषि विकास बैंकले अब ग्रामीण क्षेत्रमा गएर सेवा दिनुपर्ने बताए ।
सामुहिक खेती प्रणालीमा काम गर्ने कृषकलाई बैंकले सहज रुपमा सेवा दिनुपर्ने उनको भनाइ थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले स्रोत साधनको अभावमा सबै स्थानीय तहमा सेवा दिन नसकिएको बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्यहरु जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कृषि तथा सहकारीसँग सम्बन्धित प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।