मदनपुरमा लोकल कुखुरामा भेटियो बर्डफ्लु
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका(२ नन्दपुरका पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । उनले पालेका कुखुराहरुमा ७५ प्रतिशत बढि मरेका थिए ।
१५० लोकल कुखुरा पालेका उनले कुखुरा मर्न थालेपछि केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षणका लागि लगेका थिए जहाँ कुखुरामा बर्डफ्लु देखिएको हो।
बर्डफ्लु भएको प्रमाणित भएपछि महतोले पालेका कुखुराहरु नष्ट गरिएका छन् । बर्डफ्लु नियन्त्रण गर्नका लागि नन्दपुर गाउँको १ किमि क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो।
त्यस क्रममा १ सय ८१ गोटा लोकल कुखुरा, ६५ गोटा हाँस, दाना, अण्डा र कुखुराका सुली नष्ट गरिएको मध्यविन्दु नगरपालिका पशु विकास शाखाका प्रमुख डा. श्यामकृष्ण तिवारीले बताए ।
केही दिन अघि मात्र बर्डफ्लुबाट संक्रमित भएपछि काभ्रेका एक युवकको मृत्यु भएको थियो ।