कृषि अध्ययन गर्न तीन युवा इजरायल जाँदै
नविनबाबु अधिकारी
सिन्धुली । कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् ।
हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयमा कृषि अध्यनका लागि इजरायल जान युवा छनोट भएका हुन् । छनोट हुनेमा कमलामाई नगरपालिका–१ डाँडीगुरासे निवासी मस्तिमाया घलान, कमलामाई नगरपालिका–२ भद्रकाली निवासी लक्ष्मी विश्वकर्मा र कमलामाई नगरपालिका–२ भद्रकाली निवासी श्रीदेवी मोक्तान छन् ।
छनोट भएका तीन व्यक्तिले इजरायलका विभिन्न कृषि तालीम केन्द्रमा १० महीन कृषि जेटिए तालीममा सहभागी भएर स्वदेश फर्कने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले जानकारी दिए ।
आवदेकमध्ये कमलामाई नगरपालिका–१ जखनीकी बुना थापा र कमलामाई नगरपालिका–२ चियाबारीका निर्मलकुमार थापा वैकल्पिक उम्मेदवारको रुपमा छनोट भएको उनले बताए । सातजनाले इजरायज जानका लागि आवेदन फारम भरेका थिए । परीक्षाबाट तीनजना छनोट भएको विश्वकर्माले जानकारी दिए ।
दश जोड दुई उत्तीर्ण गरेका र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका छोराछोरीलाई कृषि अध्ययनका लागि विसं २०७२ देखि इजरायल पठाइँदै आएको उनले बताए । हालसम्म सिन्धुलीबाट चार जना युवा इजरायल कृषि जेटिए अध्ययनका लागि गएका छन् ।
कृषि फर्म सञ्चालन गर्ने र स्थानीयस्तरमा आधुनीक कृषि व्यवसाय सञ्चालन गर्न युवालाई इजरायल पठाइएको र त्यहाँको अध्यायन सकेर आएका युवाले आफ्नो गाउँघरमा अनिवार्य रुपमा कृषि व्यवसाय सञ्चालन गर्नुपर्नेछ ।
स्वदेश फर्किएपछि युवाको मागको आधार सहकारीले लगानी गरिदिने भएकाले युवाले कृषि फर्म सञ्चालन गरी गाउँ घरमा जानेको सीप अरुलाई पनि सिकाउनुपर्ने छ । विभिन्न कृषि समूहमा उनीहरुले कृषिलाई आधुनिक तवरले व्यवसाय गर्न सिकाउने उनको भनाइ छ ।
सहकारीमा आवद्ध शेयर सदस्यका छोराछोरीलाई निःशुल्क इजरायल पठाइने छ । अहिले छनोट भई प्रक्रियामा रहेका तीन जनाको यही वैशाख १८ र १९ गते झापा इजरायली राजदूतावासबाट स्वास्थ्य परीक्षण गरी उनीहरुलाई इजरायल लगिने छ ।
साना किसान कृषि सहकारीभन्दा बाहेक अरु सहकारीले यो कृषि अध्ययनका लागि युवालाई इजरायल पठाउने अवसर प्रदान गर्न नसक्ने हातेमालो साना किसान कृषि सहकारीका अध्यक्ष विश्वकर्माको भनाइ छ । सहकारीमा सदस्य बनेका कृषकको क्षमता वृद्धि गर्दै उनीहरुको जीवनशैलीमा कृषिका माध्यमले परिवर्तन ल्याउन यस सहकारीले सघाउने उनले बताए ।
सहकारीमा हाल एक हजार १७५ जना कृषक आवद्ध भएका छन् । दाम र काम दुवै पाउने भएपछि कृषकका छोराछोरी इजरायल जान निकै उत्साहित छन् । उनीहरुले यसबाट देश र जनता दुवैलाई लाभ हुने विश्वास व्यक्त गरेका छन् ।
साना किसान बैंक अन्तर्गत ग्रामीण क्षेत्रका कृषि सहकारीको पहलमा छनोट भएका युवालाई तालीमका लागि इजरायल पठाउने प्रक्रिया शुरु गरिएको साना बैंकले जनाएको छ ।
पछिल्लो समयमा इजरायल पठाइने युवाको क्षमता अभिवृद्धि गरेर उनीहरुलाई आर्थिक र प्राविधिक रूपमा बलियो बनाउन युवालाई इजरायल पठाउन लागिएको छ । दश महीनाको तालीम अवधिभर तालीमकै क्रममा मासिक रु डेढ लाखसम्म ती युवाले कमाउँछन् ।