सुन्तलापछि जाजरकोटमा मौरी जोन

–हेमन्त केसी

जाजरकोट । व्यावसायिक कृषकको सङ्ख्या बढ्दै गएकाले यस वर्षदेखि जिल्लामा मौरी जोन सञ्चालन गरिने भएको छ । मह उत्पादनतर्फ कृषकको आकर्षण बढ्दै गएकाले मौरीे जोन लागू गर्न लागिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ मार्फत लागू गर्न लागिएको बताइएको छ । कृषिमा आधुनिकीकरण, बजारीकरण, उपयुक्त वातावरण सिर्जना हँुदै गएका कारण मौरी जोन शुरु गर्न लागिएको हो । गत वर्षदेखि नै उक्त परियोजनाअन्तर्गत सुन्तला जोन कार्यक्रम नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सञ्चालन भइसकेको छ ।

यस वर्षदेखि मौरीे जोन कार्यक्रम सो परियोजनाबाट लागू हुन लागेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताए । उत्पादन र कृषक सङ्ख्याको आधारमा मौरी जोन कार्यक्रम भेरी नगरपालिका, कुशे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा लागू हुने भएको हो ।

उक्त कार्यक्रम स्वीकृत हुन कुनै पनि बालीको पाँच सय हेक्टर भन्दा बढीमा खेती र मौरीका लागि २० हजारभन्दा बढी घारमा मौरी पालिएको हुनुपर्छ । जाजरकोटमा त्यो क्षेत्रमा मापदण्ड पुगेकाले सरकारले कार्यक्रम लागू गर्न लागेको हो । हाल यहाँ ५६० हेक्टरमा सुन्तला खेती गरिन्छ । दुई हजार भन्दा बढी किसानले सुन्तला खेती गदै आएका कृषि ज्ञान केन्द्रका प्रमुख चित्रबहादुर रोकायले जानकारी दिए । वार्षिक रु एक करोड भन्दा बढीको सुन्तलाको कारोबार हुँदै आएको छ ।

यस्तै मौरीका लागि जोन कार्यक्रमले कृषकको सङ्ख्या र गुणस्तरमा समेत वृद्धि हुने मौरीविज्ञले बताएका छन् । सो कार्यक्रमले किसानलाई अनुदान, सहुलियत ऋण, आधुनिक प्रविधिको सुविधा दिने भएकाले यस क्षेत्रको आर्थिक बिकासमा थप टेवा पुग्ने कृषकको अपेक्षा छ । जनताको माग र आवश्यकताका आधारमा नयाँ कार्यक्रम थप्दै जाने योजना रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

हाल यहाँ झण्डै नौ सय ५० घरधुरीका मौरीपालक किसान रहेका छन् । झण्डै वार्षिक दुई सय मेट्रिक टन भन्दा बढी मह उत्पादन हुँदै आएको छ । सरकारले कृषि उत्पादनको आयात कम गरी देशलाई आत्मनिर्भर बनाउन देशभरि नै जोन, ब्लक र पकेट क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । मौरीका लागि चाहिने चिउरी फुलको जंगल पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रले जनाएको छ ।

नलगाड, बारेकोट, भेरी, छेडागाड र जुनिचाँदेमा तोरी खेतीसमेत गरिँदै आएको छ । मौरीको चरिचरणका लागि तोरी अर्को महत्वपुर्णबालीका रुपमा रहेको छ । तोरी र चिउरीको जंगलबाट मौरीले मह उत्पादन गर्दछन् । प्रतिघार वर्षेनी २० किलो मह सेरेना मौरीले उत्पादन गर्छ भने मेलीफेरी मौरीले प्रत्यक वर्ष ६० किलो भन्दा बढी उत्पादन गर्ने रोकायले जानकारी दिए । सुन्तलाको जोनबाट फाइदा लिएका यहाँका किसानहरु मौरी जोनबाट थप सेवा लिएर मौरी पालन व्यवसायमा लाग्नाले आम्दानीको स्रोत बढ्ने विश्वास लिइएको नलगाड–३ कल्पतका मौरीपालक किसान भद्रे पुनले बताए ।

You might also like

Leave A Reply

Your email address will not be published.