कृषि क्षेत्र कावासोती नगरपालिकाको कम प्राथमिकतामा

पशु कार्यक्रमलाई १० लाख मात्रै

कावासोती । सरकारले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखे पनि पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको भने कृषि क्षेत्र कम प्राथमिकतामा परेको छ ।

पछिल्लो समय ठूलो संख्यामा युवाहरु ब्यवसायिक रुपमा कृषि तथा पशुपालन क्षेत्रमा लागे पनि कावासोती नगरपालिकाको पनि यो क्षेत्र कम प्राथमिकतामा परेको छ । कावासोती नगरपालिकाले नगर क्षेत्रमा पशुविकाश कार्यक्रमका लागि १० लाख मात्रै बजेट छुट्याएको छ । अघिल्लो अर्थिक वर्षमा पशुपालन क्षेत्रमा नगरपालिकाले झण्डै डेढ करोड बढी बजेट छुट्याएको थियो ।

खासगरी स्थानीय तहमा कृषि तथा पशुपालनको अधिकार आएपछि झनै बढी कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा यो क्षेत्र नगरपालिकाको कम प्राथमिकतामा परेको नगरपालिकाका पशु प्राविधिक बुद्धिबहादुर देउजाले बताए ।

ब्यवसायिक रुपमा पशुपालन गर्दै आएका नगरपालिकाभित्रका किसानहरुले पशुपालन क्षेत्रमा विशेष जोड दिन नगरपालिकालाई आग्रह गरेका छन् ।

सोमबार नगरका दुई दर्जन बढी पशुपालन किसानहरुले कावासोती नगरपालिकालाई ब्यवसायीक पशुपालनको क्षेत्रमा सहयोग गर्न प्रस्ताव पेश गरेका छन् । संगठित हुने तयारीमा रहेका ब्यवसायीक पशुपालक किसानहरुले संयुक्त रुपमा नगरपालिका प्रमुख चन्द्रकुमारी पुनलाई प्रस्ताव पेश गरेका छन् ।

सो अवसरमा नगरप्रमुख पुन, उपप्रमुख प्रेमशंकर मर्दनिया तथा नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रोशन ज्ञवालीको उपस्थितिमा अनौपचारिक अन्तरक्रिया भएको थियो । वाणिज्य बैंक तथा कृषि विकाश बैंकबाट ब्याज अनुदानमा कृषि ऋण लिन पाउने प्रावधान भए पनि कावासोती शाखाबाट असहज भएको किसानले गुनासो गरेका थिए ।

नगरपालिकाकै रोहबरमा वाणिज्य बैंक तथा कृषि विकाश बैंक कावासोती शाखाका प्रबन्धकलाई झिकाई छलफल भएको ब्यवसायिक किसान दयाराम पराजुलीले बताए । खासगरी वाणिज्य बैंक कावासोती शाखामा बढी समस्या देखिएको किसानले गुनासो गरेका थिए ।

छलफलका क्रममा बाणिज्य बैंकका प्रवन्धक सबिन अधिकारीले आफूले वास्तविक किसानलाई छिटो छरितो ढंगले ऋण उपलब्ध गराउन प्रतिबद्धता जनाउनु भएको छ । छलफमा केही किसानहरु वाणिज्य बैंकका प्रबन्धमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.