‘राज्यबाट न अनुदान पाएँ न समुदायले सिके’
नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ अग्यौलीकी मायादेवी महतोले गाईपालन शुरु गरेको आठ वर्ष भयो । दुई वटा गाईबाट पशुपालन शुरु गरेकी मायाको गोठमा अहिले झण्डै एक दर्जन गाईहरु छन् ।
सामाजिक स्वास्थ्य कार्यकर्ताका रुपमा चिनिएकी मायाँ गाउँको समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । श्रीमान सेनाको जागिरे भएकाले ६/७ वर्ष माया एक्लै गोठधन्दादेखि घर चलाउने गरिन् भने आफैले मोटरसाइकलमा क्यान बोकेर दूध पुर्याउन जान्थिन् ।
पशुपालन अझ विस्तार गर्ने सोँच
श्रीमानले जागिरबाट अवकाश पाएपछि अहिले भने उनले श्रीमानको सहयोग पाएकी छन् । श्रीमानको सहयोग पाएपछि पशुपालन अझै विस्तार गर्ने उनको सोचाईँ छ । ‘फर्ममा अझै गाईहरु थप्ने सोचाइ रहेको छ’, माया भन्छिन्– ‘लगानी गर्न केही समस्या छ ।’
उनको ‘माया गाई विकाश फर्म’ नगरपालिकादेखि घरेलु तथा साना उद्योग कार्यालयमा समेत दर्ता छ । तर उनले अहिलेसम्म कहिँकतैबाट एक पैसा पनि सहयोग पाएकी छैनन् ।
उनी भन्दापछि फर्म खोलेर अनुदान खाइ फर्म छाडेका पनि आफ्नै गाउँ ठाउँमा उनले देखेकी छन् । भन्छिन्, ‘कताकता मिलाएर अनुदान खाएर धेरैले छाडेका छन् ।’
दाना चापड बढ्छ, दूधको भाउ बढ्दैन
गाईवस्तुलाई खुवाउने दानाचापडको भाउ दिनप्रतिदिन बढिरहेको छ । भन्छिन्, दिनप्रतिदिन दाना चापडको भाउ बढेको बढ्यैछ । तर दूधको भाउ भने जेको त्यहि छ ।’ जाडोको मौसम लागेपछि त झन् दूध बिक्री नभएको भन्दै विचौलियाले भाउ घटाइदिने गरेको उनले बताइन् ।
गाईवस्तुलाई खुवाउने आहार बढेपछि दूध पनि बढ्नुपर्ने हो । भन्छिन्, यसबारे राज्यले हेर्नुपर्छ । ब्यवासायिक रुपमा खेतीपाती तथा पशुपालन गरेकालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने उनी बताउँछिन् ।
बीस तीस हजार कमाउन विदेश जानु पर्दैन
अधिकांश युवाहरु रोजगारीका लागि विदेश जाने लर्को लागिरहेको छ । तर बीस तीस हजार कमाउनका लागि कोही पनि विदेश जानु नपर्ने उनको बुझाइ छ ।
‘हामी नेपालीहरु विदेशमा गएर बीस तीस हजार रुपैयाँ कमाउछौं’, उनी भन्छिन्– ‘तर मैले यहिँ गाई पालेर पनि बीस तीस हजार सजिलै कमाएकी छु ।’ यहिँ परिवारसँगै बसेर पनि केही गर्न सकिने उनी सुझाउछिन् ।
‘मान्छेहरु काम नगर्ने अनि बेरोजगार भएँ भन्छन् । काम गरेर नहुने भन्ने छैन’, पेशाप्रति पूर्ण सन्तुष्ट देखिएकी माया भन्छिन्– ‘काम गर्दा मलाइ खुशी नै लाग्छ ।’
गाई पालेरै छोरालाई इन्जिनियर
थारु समुदायमा आफूले जसरी कसैले पनि काम नगर्ने उनी बताउँछिन् । आफूले गरेको काम देखेर आफ्नो समुदायले कहिल्यै नसिक्ने उनको बुझाइ छ । तर एक्लै ब्यवसायिक रुपमा गाईपालन गरेकी मायाले यसैबाट कमाएको पैसाले छोरालाई इन्जिनियर पढाएकी छन् ।