सरकारले तोेकेकै मूल्यमा उखु खरिद गर्न निर्देशन


किसान आफैलाई चिनी मिल चलाउन कृषिमन्त्रीको सुझाव

नवलपरासी । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल नवलपरासीमै आएर उखु मिल सञ्चालकहरुलाई सरकारले तोकेको दर अनुसार उखु खरिद गर्न निर्देशन दिएका छन् ।

नवलपरासीका चिनी मिल सञ्चालकहरुले सरकारले निर्धारण गरेको उखुको मूल्य अनुसार उखु खरिद गर्न आनकानी गरिरहेकाबेला मन्त्री खनाल नवलपरासीमै आएर यस्तो निर्देशन दिएका हुन् ।

उनले सरकारले निर्धारण गरेको मूल्यमा अलिकति पनि तलमाथि नगर्न उद्योगीहरुलाई आग्रह गर्दै यदि चिनी मिल सञ्चालकहरुले सधै किसानहरुलाई यो वा त्यो बाहानामा दुख दिने क्रम नरोकिए किसानले नै सहकारीमार्फत मिल चलाउनुपर्ने बताए ।

‘सरकारले अनुदान दिएको छ, तोकिएको मूल्य भुक्तान गर्नु पर्छ त्यसो पनि गर्दैन भने किसान दाजुभाईहरु मिलेर सहकारी बनाउनुहोस् अनि सहकारी मार्फत नै चिनी मिल सञ्चालन गर्नुहोस्’, उनले भने– ‘सरकार त्यसका लागि गर्न पर्ने सहयोग गर्न तयार छ ।’

कृषि मन्त्री खनालले सोमबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका, सुस्ता र प्रतापपुर गाउँपालिकाको कृषि क्षेत्रको अनुगमन गरेका थिए । अनुगमनपछि यस क्षेत्रका उखु उत्पादक किसान र केरा उत्पादक किसानहरुसँग छलफल समेत गरेका थिए ।

उखु र केरा किसानको ज्ञापनपत्र

नवलपरासीका उखु तथा केरा उत्पादक किसानहरुले कृषिमन्त्री खनालसमक्ष छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री खनाललाई केरा उत्पादक किसानहरुले आफूहरुको समस्यासहित १० बुँदे ज्ञापनपत्र बुझाएका छन् भने उखु उत्पादक किसानहरुले तीन बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
सुस्ता गाउँपालिका ५ पक्लिहवामा एक कार्यक्रमकाबीच केरा किसानहरुले मन्त्री खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

विचौलियाको मनपरी

केरा उत्पादक किसानहरुले अफुहरुले १८÷२० महिना माटोमा खेलेर उत्पादन गरेको केराको उचित मूल्य नपाएको गुनासो गरेका छन् । विचौलियामात्रै मोटाउने काम भएको उनीहरुको भनाइ थियो ।
सस्तो मुल्यको भारतीय केरा निर्वाध रुपमा नेपाल आउने गरेकाले पनि नेपाली किसानहरु मर्कामा परेको किसानको गुनासो छ ।

सरकारले केरा उत्पादक किसानहरुलाई विउ, मल, सिचाई लगायतका अत्यावश्यक बस्तु उपलब्धि गराउनु पर्ने, नवलपरासीको दक्षिणी क्षेत्रमा केराको राम्रो सम्भावना भएको भए पनि केरा संकलन एवं वितरण केन्द्रको अभावका कारण किसानहरु समस्यामा पर्ने गरेको लगायतका माग सहितको ज्ञापनपत्र कृषि मन्त्रिलाई बुझाएको नवलपरासी केरा उत्पादक संघका महासचिव मदनकुमार कुशवाहले बताए ।

प्रत्येक पालिकामा चिस्यान केन्द्र, नवलपरासीको सुस्ता र प्रतापपुर गाँउपालिकाको विचमा पर्ने गरि केराको उत्पादनका लागि कृषि उद्योगको स्थापना, कृषि औजारमा भन्सार छुट, केराको पकेट क्षेत्रहरुमा केराका विज्ञहरुको समेत आवश्यकता रहेको भन्दै माग पत्र पेश गरेका छन ।

उखु किसानको गुनासो
उखु किसानहरुले प्रतापपुरको बेलाटारीमा एक कार्यक्रम गरि ३ बुदा सहित मन्त्री खनाललाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले प्रत्येक बर्ष भदौ र आश्विन महिना भित्रमा उखुको मुल्य तोक्नुपर्ने किसानहरुले माग गरेका छन् ।

भुक्तानी पाउनै मुश्किल

आफूहरुले बिक्री गरेको १५/२० दिन भित्रमा उखुको भुक्तानी पाउनु पर्ने माग पनि किसानहरुले मन्त्री समक्ष गरेका छन् ।

उखु किसान र चिनी उद्योगका मालिकहरु दुबैको फाइदा हुने गरि उन्नत जातिको उखुहरु लगाउनको लागि किसानहरुलाई उत्प्रेरित गर्नु पर्ने माग पनि किसानहरुको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.