अधिकृतको जागिर छाडेर गाईपालन, भन्छन्– सरकारले प्रोत्साहन गर्नुपर्छ

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुक हिजोआज कृषिकर्ममा ब्यस्त छन् । धानुकले ३५ लाख लगानी गरी गाई फार्म सञ्चालन गरेका हुन् ।

जागीर छाडेर उन्नतजातको गाई ल्याइ फार्म सञ्चालन गरेका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ को प्रयोगबाट दूध दुहुने गर्छन् । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ । गाई दुहुन मात्रै दुई कामदार आवश्यक पर्दछ ।

आधुनिक तरिकाले गाईपालनमा लागेका धानुकको फार्ममा अहिले १० वटा जर्सी र होलेस्टेन जातका गाई छन् । उन्नतजातका गाई भने भारतबाट खरीद गरेर ल्याइएको हो । धानुक नेपाल चेम्बर अफ कमर्शमा वित्त प्रशासन अधिकृतको जागीर छाडेर गाईपालन पेशामा लागेका हुन् ।

उनले वर्षको रु एक लाख १४ हजार भाडा तिर्ने गरी तीन बिगाघा जग्गा लिजमा लिएर पशुपालन सञ्चालन गरेका हुन् । घाँस प्रयोजनका लागि तीन विगाहा जग्गा लिनुपरेको उनले बताए । फार्ममा पालिएका गाईले हाल दैनिक ४० लिटर दूध दिँदै आएका छन् । अरु २० वटा दुधालु गाई थप्ने योजना रहेको उनले सुनाए ।

फार्म खोलेर दुग्ध उत्पादनमा लागेका व्यवसायीलाई सरकारले प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *