सस्तोमा उखु बेच्न बाध्य, उखु खेतीबाट विस्थापित हुने क्रम बढ्दै

किसानहरुले गत बर्षको पुरै भुक्तानी नपाउदै यस बर्ष उखु क्रसिङको सिजन सुरु भैसकेको छ। नवलपरासीमा रहेका चिनिमिलहरु तत्काल संचालनमा नआउने भएपछि किसानले क्रसरलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् ।

पश्चिम नवलपरासीमा रहेका बाग्मती सुगर मिल र ईन्दिरा सुगरमिल माघ महिना भन्दा अगाडि संचालनमा आउने सम्भावना न्यून रहेपछि किसानहरुले क्रसरलाई उखु दिन सुरु गरेका हुन ।
दशैंको आसपासबाट उखु क्रसिङको सिजन सुरु हुने गर्दछ । मिल संचालनमा ढिलाई भएपछि क्रसरले किसानबाट प्रतिक्विन्टल २ सय देखि ३ सयसम्ममा उखु उठाउने गर्दछन्।

किसानहरु पनि मिल संचालन हुने सम्भावना तत्काल नदेखिएपछि सस्तोमै बेच्न बाध्य भएका छन्। सुस्ता गाउपालिका र प्रतापपुर गाउपालिकामा ३० भन्दा बढी क्रसिङ उद्याग संचालनमा रहेका छन्। क्रसिङ उद्योगले किसानबाट सस्तोमा उखु उठाउने र भेली उत्पादन गर्दै आईरहेका छन् ।

सरकारले गत बर्ष ५ सय ३६ रुपैयां प्रतिक्विन्टल उखुको मुल्य निर्धारण गरेको थियो। यस बर्ष सरकारले उखुको नयां मूल्य निर्धारण गरिसकेको छैन ।

गतबर्षको भन्दा पनि कम रेटमा उखु बेच्नुपर्ने किसानको बाध्यता भएको सुस्ता गाउपालिका वडा नम्बर २ का उखु किसान पिटर गुप्ताले बताए । एकातर्फ लागत अनुसारको मूल्य नपाउनु अर्कोतर्फ मिल संचालकहरुले समयमै भुक्तानी नदिदा नवलपरासीमा उखु खेती गर्ने किसानहरु विस्तारै केरा खेतिमा आकर्षित हुनेगरेका छन् ।

गुप्ताले पनि पहिले पहिले पुरै जग्गामा उखु खेती गर्ने गरेकोमा पछिल्ला बर्षहरुमा उखु हटाएर केरा खेती गर्न सुरु गरेको बताए ।

गुप्ता मात्र होईन अहिले अधिकांस किसान विस्तारै उखु खेतीबाट विस्थापित हुने क्रम हरेक बर्ष बढ्दै गैरहेको छ ।

किसानहरुलाई उखु खाली गरी खेतमा मसुरो र गहुं छर्न हतार भैसकेको छ । मिल ढिलो संचालन हुने भएपछि बाध्य भएर क्रसर उद्योगलाई सस्तोमै भए पनि बेच्नुपरेको किसान राम अवदेस गुप्ताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *