संघीयतासँगै कृषि क्षेत्र अस्तब्यस्त, स्थानीय तहमा प्राविधिकको मनपरी

जिल्ला कृषि विकास कार्यालय नहुँदा किसानलाई समस्या

पोखरा । संघीयता कार्यान्वयन भएसँगै कृषि क्षेत्र झनै अस्तब्यस्त बनेको छ । संघीयतासँगै जिल्लाका पशु तथा कृषि विकास कार्यालय विघटन गरिएपछि किसान झनै समस्यामा परेका छन् ।

जिल्लाका कृषि विकास कार्यालय विघटन गरी प्रदेश मातहतको कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । किसानको सानो समस्यामा पनि अर्कै जिल्लामा रहेको ज्ञान केन्द्र धाउनुपर्ने समस्या भएको छ ।

संघीयतासँगै टुक्रिएर बनेको पूर्वी नवलपरासी जिल्लाका किसानहरु आफ्नो सानो कामका लागि पनि तनहुँको दमौली जानुपर्ने बाध्यता छ । सरकारले कृषि क्षेत्रलाई महत्व दिने भने पनि कृषि क्षेत्र झनै समस्या किसानहरुको गुनासो छ ।

नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विघटन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिएको छ । तथापि कृषि शाखामा नगरपालिका तथा गाउँपालिकाले व्यवस्थापन गर्नुपर्ने प्रावधान भए पनि ब्यवहारमा लागू हुन सकेको छैन । स्थानीय तहमा कार्यरत पशु तथा कृषि प्राविधिकको मनपरी रहेको किसानले गुनासो गरेका छन् ।

कृषि कार्यालय नभएपनि सरकारी प्राविधिकहरुले स्थानीय तहमा ब्रम्हलुट गरेको किसानको आरोप छ । उनीहरुले किसानलाई आएका सेवा सुविधा आफ्नै भेटेनरी पसलबाट बेच्ने गरेका छन् ।

नयाँ प्रावधान अनुसार स्थानीय सरकारको मातहत रहने गरी कृषि शाखा र प्रदेश सरकार मातहत रहने गरी कृषि ज्ञान केन्द्र रहने प्रावधान छ ।

गण्डकी प्रदेश सरकार अन्तरगत ११ वटा जिल्ला रहे पनि गोर्खा जिल्लाबाहेक अन्य जिल्लामा एउटा कार्यालयले दुई वटा जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र राखिएको छ ।

नवलपुर र तनहुँ हेर्ने गरी तनहुँमा ज्ञान केन्द्र राखिएको छ । तनहुँको दमौलीमा राखिएको ज्ञान केन्द्र नवलपुर जिल्लाका लागि टाढा भएकोले नवलपुरमै ज्ञान केन्द्र स्थापनाका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गर्न जाने तयारी गरेको कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालले बताए ।

कृषि ज्ञान केन्द्र दमौलीका कार्यालय प्रमुख तेजप्रसाद दवाडीले गण्डकी प्रदेश अन्तरगत ११ जिल्लाका लागि ६ वटा ज्ञान केन्द्र रहेको र नवलपुर जिल्ला र तनहुँ हेर्ने गरी दमौलीमा एउटा ज्ञान केन्द्र खोलिएको बताए ।

उनले ज्ञान केन्द्रले सोझै किसानहरुसँग पहिलोको जिल्ला कृषि विकास कार्यालयले झै काम नगरी प्रदेश सरकार मातहत रही कृषि अनुसन्धानका क्षेत्रमा ज्ञान केन्द्रमा काम गर्ने गरेको जानकारी दिए । उनले प्रदेश सरकारले नयाँ निर्णय गरे जिल्ला जिल्लामा ज्ञान केन्द्र रहने सक्ने पनि उल्लेख गरे ।

You might also like

Leave A Reply

Your email address will not be published.