हेटौँडामा बर्डफ्लुको महामारी, सबै कुखुरा नष्ट गरिने

किसानलाई राहतस्वरुप अनुदान प्रदान गरिने

हेटौँडा । मकवानपुरको हेटौडामा कुखुरामा बर्डफ्लुकोप महामारी फैलिएको छ । तीन साताअघि हेटौँडामा हजारौँ कुखुरा मरेका थिए । मरेका कुखुराको परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पालेको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु भेटिएको थियो । तीन साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए । हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो ।

विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् ।

प्रभावित क्षेत्रका सबै कुखुरा नष्ट गरिने

हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीको विभिन्न स्थानमा बर्डफ्लु रोगबाट प्रभावित कुखुरालाई नष्ट गरी गरिने भएको छ ।

स्थानीय नागस्वती क्षेत्रका विभिन्न स्थानमा कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला गरी ४१ हजार ७६५ पशुपक्षीलाई चैत २ गते काठमाडौँबाट आएका चिकित्सकको प्राविधिक टोलीले नष्ट गरी खाल्टोमा पुर्ने तयारी गरिएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त आकस्मिक बैठकले कृषकले पालन गरेका ठूला कुखुरा र साना चल्ला नष्ट गरिँदा ती कृषकलाई राहतस्वरुप अनुदान प्रदान गर्न जिल्ला पशुसेवा कार्यालयका प्रमुख चिकित्सक डा चेतनाथ खरेलको संयोजकत्वमा मूल्य निर्धारण गर्ने पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.