कांग्रेसका युवा नेता गाईपालनमा ब्यस्त

नेपालगञ्ज । मुलुकमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका लागि निर्णायक आन्दोलनको समयमा नेपाल विद्यार्थी संघको विभिन्न स्तरको नेतृत्व गरेका गंगा कार्की अहिले गाईपालनमा ब्यस्त छन् । गाईपालनले उनलाई मनग्ये आम्दानी भएको छ ।

‘‘जनताको भलो र देश विकासभन्दा आफ्नो विकासका लागि नेताहरू केन्द्रित भएपछि राजनीति छाडेँ र गाईपालन थालेँ,’’ कार्कीको भनाइ छ । बाँकेको कोहलपुर–३ मैटहवामा कृतिका गाई फर्म स्थापना गरेर सात वर्षदेखि गाईपालन गरिरहेका कार्कीको गोठमा अहिले ५६ वटा गाई छन् । दैनिक डेढ सय लिटर दूध बिक्री गरेर मासिक डेढ लाख रुपियाँभन्दा बढी आय भइरहेको उनी बताउँछन् ।

दोलखाबाट सात वर्षअघि बाँकेमा आएर उनले गाईपालन शुरु गरेका हुन् । त्यसबेलाको सम्झना गर्दै उनी भन्छन्, ‘‘श्रीमतीको गहना राष्ट्रिय वाणिज्य बैंकमा धितो राखी ५२ हजार रुपियाँ ऋण लिएर दुइटा गाई पाल्न थालको हुँ । एक करोड रुपियाँभन्दा बढीको लगानी भइसकेको छ । अहिले फर्ममा ५६ वटा गाई छन् ।’’

अहिले ‘अफ सिजन’ रहेकाले दैनिक १५० लिटर मात्रै दूध उत्पादन भइरहेको छ । सिजनमा त दिनकै तीन सय लिटर दूध उत्पादन हुने उनी बताउँछन् । उनको लक्ष्य भने दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने रहेको छ । त्यसका लागि गाईको सङ्ख्या दुई सय पु¥याउनु पर्छ । लक्ष्य अनुसार काम भए उनको आय मासिक तीन लाख रुपियाँ पुग्ने छ । उनी आफ्नो गाई फर्म पश्चिम नेपालकै सबैभन्दा ठूलो भएको दाबी गर्छन् ।

दोलखा तामाकोशी निवासी कार्की २०४५ सालमा नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष निर्वाचित भएका थिए भने २०४८ सालमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

काँग्रेस जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य र राष्ट्रिय युवा परिषद्को सदस्य समेत भइकेका कार्की राजनीतिमा चाकरी, चाप्लुसी गर्नेहरू मात्रै अगाडि जान थालेपछि आफू पछाडि हटेको बताउँछन् ।

कोहलपुर–३, मैटहवामा जग्गा भाडामा लिएर गाईपालन शुरु गरेका कार्कीले आफ्नो गाई फर्मलाई स्रोत केन्द्रका रुपमा स्थापित गर्ने योजना रहेको पनि जानकारी दिए ।
सरकारी सहयोग हुने हो भने छाडा रहेका गाईलाई ल्याएर ‘ब्रिड’ गरी कृत्रिम गर्भाधानमार्फत् गुणस्तर विकास गर्न सकिने योजना पनि उनले सुनाए ।

कोहलपुर नगरपालिकाले दूध दुहुने मेसिन र हाते ट्याक्टर सहयोग गरेको जनाउँदै उनले सरकारबाट अन्य कुनै सहयोग नभएको गुनासो गरे । दूध विक्रीका लागि बजारको कुनै पनि समस्या नरहेको प्रष्ट्याउँदै कार्कीले कोहलपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अधिकांश दूध खरिद गर्ने गरेको बताए । कार्कीले दूध विक्रीका लागि कोहलपुर बजारमा ‘साई डेरी’ पनि सञ्चालन गरेका छन् ।

दूधको सही मूल्य नपाउनु, दानाको मूल्य वृद्धि हुँदै जानु, दुग्ध विकास आयोजनाले निकै सस्तोमा दूध खरिद गर्नु, सरकारी अनुदानको दुरुपयोग हुनु र जग्गाको व्यवस्थापन नहुनु गाईपालनका लागि समस्या भएको उनी बताउँछन् ।

कानुनमा स्नातक र मानविकीमा स्नातकोत्तर गरेका कार्कीले गाईपालन व्यवसायबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको बताए । देशको आर्थिक विकासका लागि थोरै भएपनि केही सहयोग गर्न पाएकोमा खुशी रहेको उनी बताउँछन् ।

You might also like

Leave A Reply

Your email address will not be published.